प्रस, वीरगंज, २५ असोज/
रामनगरी–महुवन–श्रीपुर पंचगावाँ सडकखण्ड निर्माणको क्रममा अनियमितता भएको भन्दै निर्वाचित पदाधिकारीहरूले काम गर्न रोक लगाएका छन्।
प्रदेशसभा सदस्य मन्जुर आलम, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाललगायतको टोलीले अनुगमनको क्रममा गुणस्तरहीन तथा मापदण्डविपरीत काम गरेको भन्दै प्रमाण फेला परेपछि हिजोदेखि काममा रोक लगाएको प्रदेश सांसद मन्जुर अन्सारीले बताए।
मापदण्डविपरीत ग्रेभल, पिच बेस तथा कालोपत्र गरेको पाइएकाले काम रोकेको सांसद अन्सारीले बताए। निर्वाचन क्षेत्र नं ३ मा एक क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत सो सडक निर्माणको लागि समा कन्स्ट्रक्शनले गत वर्ष टेन्डर सकार गरेको थियो।
रामनगरीदेखि श्रीपुर पंचगावाँसम्म बनाउनुपर्ने सडक ठेकेदार जहुर आलमले मनोमानी तरीकाले महुवनबाट श्रीपुर पंचगावाँसम्म काम शुरू गरेको गापा अध्यक्ष्F प्रदीप जैसवालको भनाइ छ। गापाध्यक्ष जैसवालले निर्वाचन क्षेत्रभित्र सो सडक निर्माण गर्दा राजनीतिक तरीकाले ठेकेदार आलमले आफूखुशी काम गरेको आरोप लगाए। गापाध्यक्ष जैसवालका अनुसार ४ सेन्टिमिटर कालोपत्रको साटो २ सेन्टिमिटर मात्र कालोपत्र ठेकेदारले गरेको गाउँलेहरूले गुनासो गरेपछि सो क्षेत्रका निर्वाचित पदाधिकारीहरूले सडक अनुगमन गरेका थिए।
यस विषयमा कन्स्ट्रक्शनका सञ्चालक जहुर आलमले रामनगरीदेखि श्रीपुर पंचगावाँसम्म पर्ने सडक अन्तर्गत रामनगरी तथा महुवन गाउँमा साइट क्लियर नहुँदा आफूले सो सडक अन्तर्गत महुवनबाट काम शुरू गरेको बताए। लकडाउनको बेला रामनगरीमा घर भत्काउँदा स्थानीयहरू मारमा पर्ने, गापा अध्यक्षले कुनै पहल नगरेकाले आफू झमेलाबाट बच्नको लागि सो सडकखण्ड अन्तर्गत नियम अनुसार काम गरिरहेको बताए।
अनुगमन टोलीले काम रोक्नु तथा विभिन्न आरोप–प्रत्यारोप गर्नु राजनीतिक प्रतिशोध भएको आलमको भनाइ थियो। सडक डिभिजन कार्यालय हेटौंडाका चारजना प्रतिनिधिको रोहबरमा काम भइरहेकोले कमसल काम नभएको उनले बताए। राजनीतिक हिसाबले आरोप लगाइ काम रोकेकोप्रति उनले दुःख व्यक्त गरेका थिए। सो सडक निर्माणको लागि सङ्घ सरकारले रु १२ करोड रकम विनियोजन गरेको छ। सङ्घ सरकारको सहयोगमा अहिलेसम्म काम भइरहेको र कुनै विवाद नभएको तर गापाध्यक्ष जैसवालले व्यक्तिगत प्रतिशोध साँधेको बताए।