प्रस, सिरहा, २४ असोज/
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिकाको सेवा एक साताको लागि बन्द गरिएको छ। नगरपालिकाको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकोले असोज २५ देखि ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने सम्भावना रहेकोले तत्काल पिसिआर परीक्षण गराउनसमेत नगरपालिकाले आग्रह गरेको छ।