ज्येष्ठ नागरिक सङ्घको सातौं जिल्ला सभा सम्पन्न, ज्येष्ठ नागरिकलाई माया गर्नुपर्छ –नगरप्रमुख सरावगी

0


प्रस, वीरगंज, २३ असोज/
    ज्येष्ठ नागरिक सङ्घ, पर्साको सातौं जिल्लासभा वीरगंजमा सम्पन्न भएको छ।
    वीरगंज महानगरका नगरप्रमुख विजय सरावगीको प्रमुख आतिथ्यतामा शुरू भएको कार्यक्रम फूल तथा आँपको बिरुवा रोपण गरी शुभारम्भ भएको थियो। कार्यक्रममा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिक, समाज र परिवारको गहना भएको बताए। उनले ज्येष्ठ नागरिकलाई हेला होइन, माया गर्नु परिवारको सदस्यको कर्तव्य रहेको बताए।
    नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकलाई आफूले सकेसम्म सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ज्येष्ठ नागरिक सङ्घलाई जग्गा दिने प्रक्रिया शुरू भइसकेको बताउँदै चाँडै भवन निर्माण गरिदिने आश्वासन दिए।
    उनले लक्ष्मणवा पार्कलाई व्यवस्थित गरेर ज्येष्ठ नागरिक सङ्घको जिम्मा लगाउने प्रक्रियामा रहेको बताए।
    नगरप्रमुख सरावगीले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बाटो बिग्रेको स्वीकार्दै टेन्डर प्रक्रियाबाट चाँडै सडक विस्तार गर्ने बताए। गत वर्ष भएको मरम्मतको क्रममा सडकभन्दा माथि टालटुल गरेको कारण महानगर नै आलोचित भएको र यसको लागि क्षमायाचनासमेत गरे।
    सङ्घका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभा उद्घाटन समारोहमा त्रिमूर्ति टोल सुधार समितिकी अध्यक्ष उमा मिश्र, वडाध्यक्ष रामदरश कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रममा सङ्घको विगत गतिविधि र आगामी वर्षको कार्यक्रमबारे सचिव जुमादिन शेख हवारीले प्रतिवेदन र सङ्घका कोषाध्यक्ष किशोरीप्रसाद गुप्ताले आय–व्ययको विवरण प्रस्तुत गरेका थिए। निवर्तमान अध्यक्ष पशुपति विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन तेस्रो पुस्ताका मुस्कान शर्मा र खुशी शर्माले गरेका थिए।
    लगत्तै शुरु भएको बन्द सत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि सहमति जनाउँदै पारित गरेका थिए। बन्द सत्रले कार्य समितिका सदस्य नवलकिशोर पाण्डेको मृत्यु भई खाली रहन गएको पदमा कार्यसमितिले मनोनयन गरको बद्रीनारायण केसीको नाम अनुमोदन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here