प्रस, सिम्रौनगढ, २३ असोज/
लकडाउन शुरू भएको चैत ११ गतेदेखि सीमा सिल भएपनि पछिल्लो चरणमा भारतीय सीमामा आवतजावत बढेसँगै रौतहट, बाराको सीमावर्ती बजारमा किनमेल गर्नेहरूको सङ्ख्या घट्दो छ।
सीमा सिल भएको अवस्थामा पनि भारतीय बजारमा आवतजावतमा कडाइ नभएको कारण स्थानीयहरू भारतीय बजारमा पुग्ने गरेको कारण पर्सा, बाराको सिम्रौनगढ, बंकुल, पिपरपाती, राजपुर, कबही, मटिअर्वा, वसन्तपुर, बेनौली, फेटालगायत बजारमा स्थानीयको चहलपहल घटेको छ। लकडाउन र निषेधाज्ञामा सीमा सिल भएको अवस्थामा नेपाली बजारमा खरीद गर्नेहरूको सङ्ख्या बढेको थियो। असोज १ गतेदेखि लकडाउन खुकुलो भएको र निषेधाज्ञा हटेपछि भारतीय बजारमा स्थानीयको चहलपहल बढेको हो।
सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष मुकेशकुमारले भारतीय बजारमा मानिसहरूको जाने क्रम बढेपछि नेपाली बजार प्रभावित भएको बताए। सीमा सील भएको अवस्थामा पनि मानिसहरूको आवतजावत निर्वाध भएकोले नेपाली बजारमा सामान खरीद गर्नुको साटो भारतीय बजारमा जानेको सङ्ख्या बढेको हो। भारतीय बजारमा उपभोग्य सामान सस्तो पाइने हुनाले स्थानीयको चहलपहल भारतीय बजारमा बढेको उनको भनाइ छ।
घोडासहन, बैरगनिया, चैनपुर, गुरहनवा, जयमूर्ति नगर, छौडादानो, आदापुर, नकरदेईलगायत ठाउँबाट सामान ल्याएर झोले तस्करहरूले गाउँघरमा बिक्री गर्ने क्रम पनि बढेको छ।