काठमाडौं, २३ असोज/रासस
    नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर दुर्ई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ।
    हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन्। देशभर ११ हजार १७६ जना संस्थागत आइसोलेशनमा तथा १५ हजार ८७७ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको थियो। योसहित नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ।
    हाल देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० सङ्क्रमित निको भएर घर फर्केका छन्। योसँगै देशभर ७३ हजार २३ सङ्क्रमित निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए।
उपत्यकामा थपिए एक हजार ४०९
    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ४०९ कोरोना सङ्क्रमित भेटिएका छन्। प्रवक्ता गौतमका अनुसार काठमाडौंमा एक हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सङ्क्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ७७१ पुगेको छ।
    सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा चार हजार १७४ तथा भक्तपुरमा तीन हजार ४९ पुगेको छ।
    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ पुरुष र एक महिला छन्। झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रूपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here