चित्तोद्वेग र मानसिक स्वास्थ्य

0

– डा. रमेश मिश्र
   संसारका सबै प्राणी बाचुन्जेल स्वस्थ्य जीवनयापन गर्न चाहन्छन्। यसको लागि आर्थिकरूपमा अर्थात् आफूले बस्ने, खाने कुराहरूको खोजी, उपार्जन, सञ्चयमा लागिपरेका हुन्छन्। यी प्राणीहरूमध्ये मनुष्य पनि एक हो। मनुष्य पनि आफू र आफ्नो परिवारलाई सुख, शान्ति, ऐश, आरामसँग बस्न, विभिन्न कर्महरू गर्दछ। कोही सुकर्म गरेर सफल हुन्छ त कोही कुकर्म गरेर असफल हुन्छ, परिणाम स्वरूप विभिन्न मानसिक रोगको शिकार हुन्छ।
    आयुर्वेद अनुसार स्वस्थ्य व्यक्ति त्यो हो जो शारीरिक र मानसिकरूपमा पूर्णरूपमा स्वस्थ छ। शरीर स्वस्थ भएर मात्र हुँदैन वा मन स्वस्थ भएर मात्र हुँदैन, शरीर र मन दुवै स्वस्थ हुनुपर्दछ। आयुर्वेदमा स्वस्थ व्यक्तिको परिभाषा यसप्रकार गरिएको छ–
सम दोषः समाग्निश्च समधातु मलक्रियः।
प्रसन्नात्मेन्द्रियः मन स्वस्थ इत्यभिधीयते।।
    अर्थात् जुन व्यक्तिमा त्रिदोष (वात, पित्त, कफ) सम छ, जसको अग्नि र धातु सम छ, मल र क्रिया सम छ, जसको आत्मा, इन्द्रियहरू र मन प्रसन्न छ, त्यही व्यक्ति स्वस्थ हो। अब हामी कल्पना गरेर हेरौं–हामीमध्ये आयुर्वेद अनुसार कति व्यक्ति स्वस्थ छन्।
    कामको बोझ, पारिवारिक तथा सामाजिक झैंझगडा, भागदौडको जिन्दगीमा हाल आएर कोरोना भाइरसको प्रकोपले व्यक्तिलाई झन् अशान्त बनाइदिएको छ, जसले व्यक्तिमा विभिन्न शारीरिक रोगको साथै मानसिक रोगहरू पनि बढ्न थालेको छ। ती मानसिक रोगहरूमध्ये चित्तोद्वेग पनि एक हो। आधुनिक चिकित्सा विज्ञानमा यसलाई ऐंग्जाइटी न्यूरोसिस भनिन्छ।


    आयुर्वेद अनुसार हाम्रो शरीरमा तीनवटा शारीरिक दोषहरू वात, पित्त, कफ र तीनवटा मानसिक दोषहरू सत्व, रज, तम हुन्छ र त्यसैको साम्यावस्था भनेको स्वस्थ जीवन हो। जब मानसिक दोष रज र तम दूषित हुन्छ परिणामस्वरूप मस्तिष्क अशान्त हुन्छ र यसै अवस्थालाई चित्तोद्वेग अर्थात् ऐंग्जाइटी न्यूरोसिस भनिन्छ।
    यो रोग हुनुको मुख्य कारण असंजोज्य, दूषित र अस्वच्छ भोजनको नियमित प्रयोग, अत्यधिक डर, बढी दुःखी वा खुशीबाट प्रभावित हुनु, एकअर्काप्रति हीन दृष्टि राख्नु, अरूको इज्जत नगर्नु, मानव मूल्य बिर्सेर आफूलाई नै सबैभन्दा ठूलो ठान्नु, अरूको अनादर गर्नु आदि हो। अर्थात् बिस्तारै– बिस्तारै व्यक्तिमा रजोगुण र तमोगुण बढ्दै जानु हो। यसले गर्दा मनमा अस्थिरता, अशान्ति, बुद्धिलोप, चिन्तित भाव, असंबद्ध भाषण, अप्रासङ्गिक कुरा गर्नु जस्ता लक्षणहरू देखा पर्न थाल्छ।
    परिणामस्वरूप शरीरमा मानसिक तनावको प्रभाव भई उच्च रक्तचाप, अर्धावेदक (माइग्रेन), अनिद्रा, मनोवसाद, दौवल्र्य, पाचनसम्बन्धी विकार, अम्लपित्त, यौवन पीडिका, त्वक विकार, कब्ज वा अतिसारजस्ता रोगहरू उत्पन्न हुन थाल्छ।
    चित्तोद्वेग एउटा मनोवैज्ञानिक विकार हो, जसको चिकित्सा आयुर्वेदमा रसायन औषधिहरूबाट, विशेष गरेर मेध्य रसायनबाट गरिन्छ।
    मण्डुक पर्णी (सेन्टेला एशियाटिका)
    ब्राह्मी (वेकोपामोनारी)
    यष्टी मधु (ग्लाइसिरिजा ग्लेव्रा)
    यी जडीबुटीहरू आयुर्वेद चिकित्सकले रोगको अवस्था अनुसार सेवन गराउँछन् साथै माथि उल्लिखित अन्य रोग लागेको अवस्थामा सोही अनुसार आयुर्वेदिक औषधि सिफारिश गर्दछन्। रोग लागेका रोगीको उपचारको साथै आयुर्वेद चिकित्सकले पथ्यमा पुरानो चामल, घृत, अङ्गुर, मुनक्का, दूध, सेतो लौका सेवन तथा ध्यान, प्राणायाम, पथ्यको रूपमा सिफारिश गर्दछन्।
    त्यस्तै गर्म मसला, विरुद्ध आहार सेवन, मदिरापान, मद्यपान, प्राकृतिक अधारणीय वेग रोके रोग बढ्छ भने यी अपाच्य हुन्, यसो गर्नुहुँदैन भन्ने सल्लाह दिन्छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here