सवारी सञ्चालन कार्यविधि काम लागेन

0

प्रस, वीरगंज, १८ असोज/
पर्सा, बारासमेतमा स्थानीय सरकारले खरीद गरेको सवारीसाधनहरूको अहिले व्यापक दुरुपयोग भइरहेको पाइएकोे छ ।
तोकिएको कार्य क्षेत्रबाहेक जिल्ला बाहिर वा बिदाको दिन सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यलयबाट कारण खुलाइ स्वीकृति लिएर मात्र चलाउने नियम सरकारी सवारी कार्यविधिमा उल्लेख छ ।
तर जनप्रतिनिधिहरूका साथै सरकारी सवारीसाधन प्रयोगकर्ता कर्मचारीहरू सेतो प्लेटका गाडी लिएर होटेल, रेस्टुराँसम्म पुग्ने गरेका छन् । घरायसी प्रयोगमा सरकारी सुविधाका गाडीहरूको चरम दुरुपयोग भइरहेको जिल्लावासीको टिप्पणी छ ।
कार्यविधिले स्थानीय सरकारले खरीद गरेको, नेपाल सरकाबाट हस्तान्तरण भई प्राप्त भएको, कुनै सङ्घसंस्था, व्यक्ति, दातृनिकायसमेतको सहयोगमा प्राप्त भएको, मानिसहरू आवतजावतमा प्रयोग गरिने मोटरसाइकल, साइकल, कार, जीप, बस, मिनीबस, माइक्रोबस, ट्रक, टिपर, दमकल, ट्याक्टर, लरी, डोजर, क्रेनलाई प्रमुख कार्यकारी वा तोकिएको व्यक्तिले सञ्चालन गर्नुपर्नेछ ।
आयोजना, योजना, कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन, भेला, समारोह, मागको लागि प्रतिनिधिमण्डल जाने जस्ता वा स्थानीय सरकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा हुने कार्यमा मात्र प्रयोगमा ल्याउनु कार्यविधिमा उल्लेख छ ।
कार्यालय प्रयोजनका कामबाहेक सवारीसधानको साँचो राख्ने बोर्डमा झुन्ड्याइने नियम छ । सवारीसाधन प्रयोग गर्ने पदाधिकारी वा कर्मचारीले इन्धनको विवरण देखिने गरी लगबूक प्रमाणित गरी पेश गर्ने, गाडी चलेको किलोमिटर स्पष्ट खुल्ने गरी प्रमाणित भएपछि मात्र दोस्रो नम्बरको कूपन दिनुपर्ने, आवको शुरूबाट नै कूपन नम्बरिङ गरेर मात्र शुरू गर्नुपर्ने हुन्छ ।
पर्सा जिल्लाका गाउँपालिकाहरूले बर्सेनि ३० लाख रुपैयाँभन्दा बढीको इन्धन खपत गर्ने गरेको पाइएको छ । त्यतिमात्र हैन अहिले कर्मचारी तथा जनप्रतिनिधिले सरकारी गाडीलाई निजी प्रयोजनमा प्रयोग गरेका छन् । निजी काममा नातागोता, भाइभारदार आसेपासेले सेतो नम्बरका सवारीसाधनहरू चलाएको जो कोही देखेको कुरा हो । सवारी सञ्चालन कार्यविधिविपरीत चल्दा कारबाई गर्ने निकाय मौन छ ।
सवारीसाधनको चरम दुरुपयोग हुँदासमेत खोजबीन गर्ने निकाय नभएपछि अहिले लापरवाही बढेको हो ।
सवारी खरीद गर्दा महँगो खरीद गर्ने, आवश्यकताभन्दा पनि होडबाजीमा सवारीसाधन खरीद गर्ने र मरम्मत सम्भारको नाममा पनि लाखौंको घोटाला हुने गरेको छ । सरकारी साधन भएकै कारण संरक्षण तथा सदुपयोगको अभावमा नयाँ सवारीसाधनहरू पनि पुरानो जस्तो अवस्थामा पुगेका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here