प्रस, वीरगंज, १७ असोज/
    वीरगंज महानगरबाट निषेधाज्ञा हटेको छ भने अब शनिवार पनि पसल खोल्न सकिने भएको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्सामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यो निर्णय गरेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले बताए। उनले असोज १५ गते रातिसम्म लागेको निषेधाज्ञा हटेको र तरकारी, फलफूल र यसअघि सञ्चालनमा निषेधाज्ञा गरिएको सिनेमाहल, सैलुन, जिमखाना, ब्युटिपार्लर, विद्यालयबाहेक सबै पसल, व्यवसाय सञ्चालन गर्न पाइने निर्णय भएको बताए। उनले बिहान जुनसुकै बेलादेखि व्यवसायीले पसल सञ्चालन गर्न पाउने र साँझ ६ बजे पसल बन्द गर्नुपर्ने बताए।
    अध्यक्ष केडियाले अबदेखि शनिवार पनि पसल सञ्चालन गर्न पाउने बताएका छन्। केन्द्रले गरेको यो निर्णय अनुसार शनिवार वीरगंजका पसलहरू सञ्चालनमा आए। सूचनाको अभावमा केही ठाउँका पसलहरू बन्द रहे पनि वीरगंजको मुख्य बजारहरू घण्टाघर, माईस्थान, आदर्शनगरका बजार निर्बाध सञ्चालन भएका थिए।
    साउन १० गतेदेखि वीरगंजमा निषेधाज्ञा लागेको थियो भने भदौ १९ गतेदेखि जोर–बिजोर पसल सञ्चालनमा आएको थियो र त्यसपछि बिहान ११ देखि अपराह्न ४ बजेसम्म र पछिल्लो समयमा बिहान ११ देखि साँझ ६ बजेसम्म पसल सञ्चालनको निर्णय भएको थियो। पसल व्यवसाय सञ्चालनमा आउनासाथ वीरगंजमा चहलपहल बढेको छ। तरकारीको हकमा बिहान ५ देखि ८ बजेसम्म पुरानै नियम लागू छ। तर यो नियमलाई तरकारी तथा फलफूल व्यवसायीहरूले मानेका छैनन् र साँझ ६ बजेसम्म निर्बाधरूपमा सञ्चालन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here