नक्कली कारोबारलाई रोक्न राजस्वमा बायोमेट्रिक फर्म दर्ता

0


प्रस, परवानीपुर, १६ असोज/
    आन्तरिक राजस्व कार्यालय पर्साले आधुनिक प्रविधियुक्त बायोमेट्रिक प्रणालीबाट फर्म दर्ता गर्ने सुविधा शुरू गरेको छ।
    गत आव २०७६/७७ देखि यो सुविधा शुरू भएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत ह्दयनारायण महतोले जानकारी गराए। उनका अनुसार नेपाल सरकारको नीति अनुसार अब हरेक आन्तरिक राजस्व कार्यालयमा शुरूको चरणमा मूल्य अभिवृद्धि करतर्फ दर्ता हुने फर्मको बायोमेट्रिक प्रणालीबाट दर्ता प्रक्रिया शुरू भएको हो।
    गत असार मसान्तसम्म आन्तरिक राजस्व कार्यालय वीरगंजमा ३४ जना नयाँ करदाताले उक्त प्रविधिबाट आफ्नो फर्म दर्ता गराइसकेको उनले जानकारी गराए। साथै आगामी २०७८ असार मसान्तसम्म मूअकमा दर्ता रहेका पुरानाका करदाताहरूको विवरण पनि अद्यावधिक गर्ने कार्य भइरहेको उनले बताए।
    कार्यालयको गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार मूअकतर्फ ९ हजार २ सय २०, डब्लु प्यान (सरकारी कार्यालय)तर्फ ६७, अन्तःशुल्कतर्फ १३ सय ९२, आयकरतर्फ ३१ हजार १ सय ९६, घरबहालतर्फ ११४ र व्यक्तिगत प्यानतर्फ ४७ हजार ४ सय ७८ जना करदाता दर्ता रहेका छन्। यो प्रणालीमा फर्म अद्यावधिक वा नयाँ दर्ता गराउन सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भई कम्प्युटरमा फोटो खिच्ने, दुवै हातको दुईवटा बूढी औंलाको छाप दिनुपर्ने, डिजिटल हस्ताक्षर दिनुपर्ने नियम छ। अशिक्षित फर्म सञ्चालकले औंठा छाप र डिजिटल हस्ताक्षरमा पनि औंठाकै छाप हान्नुपर्ने नियम छ।
    बायोमेट्रिक प्रणालीबाट फर्म दर्ता गरेपछि कार्यालयले केही सेकेन्डमा उक्त व्यक्तिको कुन कुन आर्थिक कारोबारमा संलग्नता छ भन्ने ट्र्याक गर्न सजिलो हुनेछ। गलत तथा फर्जी आर्थिक कारोबारलाई अङ्कुश लगाउन सकिने भएकोले सरकारले यस्तो प्रविधिबाट करदातालाई नियन्त्रण तथा सुविधा दिन खोजेको कार्यालयले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here