पहिचानवादको दिग्भ्रमपथ

0


– सञ्जय मित्र
    कुनै पनि समाजको पहिचानको मूल आधार के हो ? समाजलाई के के वा कुन कुन कुराले चिनाउने गर्दछन् ?
    कुनै पनि समाजको पहिचान उसको वाङ्मय हो। यो उत्तर सही हो, सतही होइन।
    वाङ्मयले विशाल परिवेश ओगटेको हुन्छ। यसलाई छोटकरीमा यसरी भन्न सकिन्छ– मानिसको अभिव्यक्ति र जीवनशैलीको सम्पूर्णता वाङ्मय हो।
    वाङ्मयलाई सङ्कुचित अर्थमा साहित्य भन्न थालिएको छ। साहित्य, कला, संस्कृति, जीवनशैली आदि जे जति अभिव्यक्तिका माध्यम हुन्, सबै वाङ्मय हुन्। यसैले के भन्ने गरिन्छ भने वाङ्मय भन्नु नै पहिचानको आधार हो।
    मानिसको परिचयका अनेक आधारहरू हुन सक्छन्। बनाउन सकिन्छ। परिवेश तथा कालक्रम र चेतना तथा आधुनिकताको प्रभावले धेरै कुरा प्रभावित भइरहन्छन्। चेतनाले आफूलाई चिनाउन ठूलो भूमिका खेल्दछ तर चेतनशील मानिस चाहिं विवेकशील हुनु आवश्यक छ। होइन भने आफूलाई चिनाउनुको साटो आफूलाई बिर्संदै अरूको पहिचान आत्मसात् गर्न बेर लाग्दैन। तब जब आफूलाई थाहा हुन्छ कि म मेरो पहिचानको बाटोमा छु वा म मेरो पहिचानको बाटोबाट अलग भइसकेको छु, तब पहिचानले मनमनै गिज्याउन थाल्दछ। सम्भवतः यसै कारण डायस्पोरिकहरू आफूलाई नेपाली देखाउन खोज्दछन्।


    कति राम्रो कुरो हो यो। हृदयमा स्वतः पहिचानको दियो बलेको जस्तो हुन्छ। परदेशमा रहेर आफूलाई चिनाउने सामूहिक पहिचानले देशलाई पनि चिनाउने उपक्रम गर्नेहरूलाई सलाम भन्न मन लाग्छ। कहिलेकाहीं यो पनि भाव मनमा उब्जन्छ कि यदि विदेशमा गएर देशको त्यत्ति माया लाग्दछ भने किन देश छाडेका होलान् ? तर जीवनपथमा अनेक अप्ठ्यारा उकाला र ओरालाहरू हुन्छन्। जीवनपथमा अग्रसर भएपछि बाटोले जता डो–याउँछ, उतै जानु पनि पर्दछ। तर देश त हृदयमा बस्ने सत्य पनि हो। कतिपय मानिस यहीं बसेर पनि देशको बारेमा सकारात्मक सोच्ने फुर्सद पाउँदैनन् भने कोही बाध्यताको रथमा चढेर परदेशिए पनि हृदयमा देशलाई लगेर आफ्नो पहिचानलाई त्यहीं स्थापित गराउँदछन् वा देशको लागि त्यहींबाट केही राम्रो होओस् भनेर असल काम गर्नेलाई प्रोत्साहन गर्दछन् भने पनि राम्रै हो नि।
    पहिचानको आधारलाई लिएर समूहगत आवाज उठाउनेहरू पनि नभएका होइनन्। केही वर्ष पहिलेलाई मात्र नियाल्ने हो भने देशका कतिपय पहिचानवादी दल वा समूहहरूले पहिचानका अनेक कुरा उठाउने गरेका थिए। अहिले पूरै छाडिसकेका छन् भन्ने होइन तर पहिचानको सवालमा अनुहारमा मात्र सीमित रहेको हो कि भन्ने गुनासो पनि आउन थालेको छ।
    अलिकति यस प्रदेशकै दृष्टान्त हेरौं त। स्थानीय सरकार गठन भएको करीब तीन वर्ष हुन थालेको छ। प्रदेश सरकार गठन भएको पनि साढे दुई वर्ष नाघिसकेको छ। प्रदेश सरकारको नेतृत्व पहिचानवादी मानिएको दलले गरेको छ। यस प्रदेशका धेरै स्थानीय सरकारको नेतृत्व पनि पहिचानवादी कहलिएका दलहरूकै हातमा छ। तर प्रदेश वा स्थानीय सरकारले भाषा, साहित्य, कला र संस्कृतिको मौलिकता रक्षाको लागि, यसको संरक्षण र संवद्र्धनका लागि, यसको विस्तार र प्रोत्साहनका लागि के गरेका छन् वा कस्ता कामहरू गरेका छन्। वास्तवमा उत्तर निराशाजनक आउन सक्छ। यस प्रदेशको दुर्भाग्य नै मान्नुपर्दछ कि पहिचानवादीको मुख्य गढ भनेर चिनाउनेहरूले पहिचानवादको पथमा केही पनि गर्न सकेका छैनन्।
    प्रदेशमा सम्भवतः कुनै पनि यस्तो स्थानीय तह छैन, जहाँ कुनै पनि नाममा वाङ्मयसँग सम्बन्धित संस्थाको आधिकारिक र औपचारिक गठन भएको होओस्। पहिचानको सवालमा पहिचानवादी दलका बुद्धिजीवी तथा सर्जकहरूले त यस क्षेत्रका लागि आवाज उठाउनुपर्दथ्यो। तर कुनै समयमा पहिचानवादको पक्षमा वकालत गर्ने, पहिचानवादको व्याख्या गर्ने, यसको आवश्यकता र औचित्यमाथि निरन्तर आफ्ना धारणा राख्ने सर्जक एवं बुद्धिजीवीहरू अहिले गज्जब मौनतामा छन्, मानौं कुनै ध्यान वा तपस्यामा बसेका होऊन्। अथवा पहिचानवादको चरम सन्तुष्टिमा चुर्लुम्म डुबेका होऊन्।
    अरूको आलोचना गर्न सजिलो हुन्छ तर आफ्नो वा आफन्तको आलोचना गर्न निकै कठिन हुन्छ। प्रदेशका केही सर्जकलाई बर्सेनि प्रोत्साहन गर्नुपर्ने जस्तो साधारण काम पनि प्रदेश सरकारले गर्नेतर्फ सकारात्मक व्यवहार देखाउन सकेन। कुनै जिल्ला यस्तो पनि देखिएन कि जिल्लाका सर्जकहरूलाई प्रोत्साहन गर्ने केही कार्यक्रम कुनै स्थानीय सरकारले ल्याएको होओस्। कतिपय अवस्थामा सांस्कृतिक कार्यक्रमको नाममा विदेशबाट कलाकार बोलाएर नृत्य प्रस्तुत गरेको पाइन्छ तर स्थानीय वा मौलिक संस्कृतिलाई प्रोत्साहन गर्ने र स्थानीय कलाकार तथा साहित्यकारलाई अगाडि बढाउने पथमा केही गर्न अगाडि सरेको देखिंदैन।
    पहिचानवादीहरूले पहिले जसरी पहिचानको कुरा गर्दथे, त्यो राजनीतिक मात्र हुँदैनथे। राजनीतिक पहिचानबाहेक पहिचानका अन्य क्षेत्रमा पहिचानवादीहरूले पहिचान बचाइराख्ने क्षेत्रमा के कस्ता उपलब्धि हासिल गरे त ? अथवा पहिचानका मूल आधारहरूको क्षेत्रमा के कस्ता कामहरू गरे, जसलाई भविष्यमा निरन्तरता दिन सकियून् र अन्यले पनि अनुकरण गरोस् ?
    यदि धरातलमा गएर हेर्ने हो भने पहिचानवादीहरूको दृष्टिमा परम्परागत शक्ति ठानिएका राजनीतिक दलका प्रमुख रहेका केही स्थानीय सरकारले भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अलिक बढी लगानी गरेका छन्। के उसो भए परम्परागत शक्तिसित नै वाङ्मयप्रेमीहरू नजीक रहेका छन् त ? यदि छन् भने पनि किन त ?
    पहिचानवादीले यत्तिको समयमा आफ्नो पहिचानको क्षेत्रको स्थायित्व दिने वाङ्मयको लागि खासै केही गर्न नसक्नुमा प्राज्ञिकताको अभाव हो ? प्राज्ञिकताको अभाव नभनौं। हरेक जनप्रतिनिधिप्रति हजारौं नागरिकको विश्वास छ। उसो भए वाङ्मयतिर ध्यान दिन नपाएकै हुन् त ? समयको अभाव भएको हो त ?
    वाङ्मयप्रति समाज नै उदासीन छ। साहित्य, कला, संस्कृतिप्रति जुनसुकै समाजमा पनि धेरै मानिस अनुरक्त देखिन्न तर हाम्रो समाजमा भने उदासीनताको मात्रा अत्यन्त बढी छ। यसको मूल कारण अशिक्षा मानिएको छ। अशिक्षा पनि एउटा कारण हुनुपर्छ तर सम्पूर्ण चाहिं होइन। नजीकको तीर्थलाई हेला गर्ने प्रवृत्ति पनि उत्तिकै हावी छ। वाङ्मयमा लागेर के हुन्छ ? भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लगानी गरेर के उपलब्धि आउँछ ? भौतिक निर्माणको क्षेत्रमा कुनै लगानी भयो भने प्रतिफल तत्काल निस्कन्छ र दुनियाँले देख्न पाउँछन् तर वाङ्मयको लगानी त देखिंदैन। तत्कालै उपलब्धि मापन गर्न असजिलो हुने क्षेत्रमा लगानी किन गर्ने ? अझ कतिपयले त यस क्षेत्रको लगानीलाई बेकारै भन्न बेर छैन। सम्भवतः बेकारै मानेर नै हुनुपर्छ, अधिकांश स्थानीय सरकार वाङ्मयप्रति मौन छन्।
    परम्परागत चित्रकला गाउँबाट लगभग लोप भइसकेको छ भन्दा पनि हुन्छ। परम्परागत भित्तेचित्र बनाउने कलाकारहरू लगभग हराइसके। मूर्तिकारहरू पनि करीब पलायन हुँदैछन्। तर पनि विश्वकर्मा पूजा, दुर्गापूजा, सरस्वती पूजा, विभिन्न यज्ञ तथा महायज्ञहरू, महावीरी झन्डा मेला जस्ता उत्सवहरूमा मूर्तिको प्रयोग भइरहेको छ। यसले गर्दा मूर्तिकारहरूलाई अझै पनि देख्न र भेट्न सकिन्छ तर अब स्थायी प्रकृतिको मूर्तिको प्रचलन बढ्दै गएको देखिएकोले यस क्षेत्रको भविष्य पनि धेरै फराकिलो देखिंदैन। यस क्षेत्रमा युवापुस्ताको अभाव देखिन थालेको छ र मूर्तिकारहरू हाम्रो समाजभन्दा बाहिरबाट ल्याउने प्रचलनको विकास हुँदै गएको छ। यसैगरी, राम्ररी विचार गर्ने हो भने गाउँघरमा पनि परम्परागत गीत गाउनेहरू अब बाँकी रहेनन्। मोबाइलले नै काम चलाउने भइसक्यो। गाउँघरका विभिन्न चाडपर्वका मौलिक प्रचलनहरू करीब हराउने अवस्थामा पुगिसके। संरक्षण गर्ने सोच नै लोप भइसकेको छ। यस अवस्थामा भाषा र साहित्यको सेवा गर्नेहरूप्रति सम्मानको भाव
नहुनु पनि अस्वाभाविक होइन तर सम्मानको भाव नभएको भन्नुभन्दा पनि महत्व नै बुझन बाँकी रहेको पनि भन्न सकिन्छ।
    अबको समयमा समाजमा बचेखुचेका परम्परागत लोकगीतका गायकहरू, लोकनृत्यका नायकहरू, परम्परागत चित्रकलाका कलाकारहरू, मूर्तिकारहरू, भाषाका जानकारहरू, साहित्यकारहरूलाई स्थानीय सरकारहरूले खोजी र पहिचान गरी तिनको प्रतिभाको संरक्षण र विस्तारको क्षेत्रमा पर्याप्त सम्मानसहित अन्य कामहरू गर्नैपर्ने भएको छ।
हिजोको दिनमा जस्तो अब सङ्घीय सरकारको मात्र मुख ताक्ने वा सङ्घीय सरकारको आलोचना गरेर मात्र काम चल्ने देखिएको छैन। सांस्कृतिक सम्पत्तिहरू संस्कृतिको इतिहासको पानामा सीमित हुन दिनुहुँदैन, भविष्यका सन्ततिका लागि पनि सुरक्षित राख्नु वर्तमानको कर्तव्य हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here