हाम्रा पुर्खाहरू प्रकृतिमैत्री थिए

0

– राजेश मिश्र
    “काकाजीके चाँतीवाला खेत में से सबलोग पियरी माटी ले आवता, जो ना बबुओ, तुहु तीन/चार शिकहर ले आव, जे घरवा लिपाई–पोताई” आमाले छोरालाई भन्दैछिन्। यी स्वरहरू देहातका घरआँगनमा असोज महीना शुरू भएसँगै सुन्न पाइन्थ्यो। अपवादबाहेक आज यी स्वरहरू आधुनिक पक्की घर र रासायनिक रङ्गकोे सतहमुनि विलीन हुन थालेका छन्। घर मरम्मतको लागि खर, बाँस र नियारी (धानबालीको डाँठ) आदि चाहिन्छ भने घर लिपपोतको लागि माटो, पराल र भुसको आवश्यकता पर्छ। विगत कालखण्डमा पुरुषले आवश्यक सामग्रीको आपूर्ति गर्नेदेखि खेतीपातीलगायतका कार्यकोे जिम्मेवारी निर्वाह गर्थे भने महिलालाई चुलोचौकासँगै घर लिपपोतको सम्पूर्ण जिम्मेवारी हुन्थ्यो।
    उतिबेला पुरुषको लागि खेतखलियान नै बैंकक र स्वीट्जरल्यान्ड थियो भने महिलाको लागि चुलोचौका ब्युटिपार्लर सरह थियो। घरसारको काममा एकअर्काप्रति परस्पर सहयोगी भावना थियो। दशैंअघि घर सुन्दर गर्नुपर्छ भन्ने सवालमा देहातीजनलाई एकछिन पनि फुर्सद हुँदैन थियो। सबै व्यस्त हुन्थे। यहाँसम्म कि युवा/बच्चाहरू पनि फुर्सतिला पाइँदैन थिए। आआफ्नो उमेर र क्षमता अनुसार सबैले घरसारको काममा सहयोग गर्नुपर्ने देहातको संस्कार र संस्कृति आधुनिकताकोे प्रभावमा नपर्नेे कुरै भएन।

    हास्यरसयुक्त संवादहरू पनि देहातमा खुब सुनिन्थ्यो,
    गाउँलेः “हो भौजी हमर घारवा कहिया लिपाई ?”
    भौजीः “भैयाजी के बाद नन्हकु बबुआ के, आ उनका बाद अपने के लिपाई सुननीं।”
    हाँस्दै र जिस्किंदै देहातमा सुनिने यस्ता संवादहरू देहाती माटोका शृङ्गार हुन्।
घरको लिपपोत
    देहातमा खपडा र फुसको घर भएको घना आबादीयुक्त बसोबास पाइन्थ्यो र आज सम्पन्नतासँगै पक्की घर बढ्दो क्रममा छ। घर लिपपोतको लागि चाहिने आवश्यक प्राकृतिक सामग्री माटो, पराल, भुस र पानी हो। आयताकारमा करीब दुई फिट गहिरो, तीन फिट चौडाइ र चार फिट लम्बाइको एउटा खाल्डो खनिन्छ। त्यसैमा माटो र भुसलाई पानी हालेर लेदो तयार पारिन्छ। घरका कोठाहरूमा बिछ्याइएको परालमाथि माटो र भुसबाट तयार पारिएको लेदोले लिपिन्छ। घरका भित्ताहरू माटो, गोबर र पानीको घोलयुक्त मिश्रणले लिपाइ हुन्छ। अन्त्यमा, गोबर र पानीको घोल तयार पारी पोताइ र छेवछाइ भएपछि घर लिपपोतको कार्य सम्पन्न हुन्छ। घर लिपपोतको कार्य दशैंअघिदेखि शुरू भएर लक्ष्मीपूजा आउनुअगावै सकाउनुपर्ने धौधौ हुन्छ। दशैंअघिदेखि कार्य व्यस्तता शुरू हुन्छ र छठपूजा नसकुन्जेल देहात अति नै व्यस्त रहन्थ्यो, जुन व्यस्तता हालका दिनमा शिक्षा, पेशा र व्यवसायतर्फ केन्द्रित छ।
शुद्ध प्राकृतिक अनुभूति सपना जस्तै
    भदैया धानको कटनी–दवनीको कार्य पनि यही समयमा हुने भएकोले देहाती माहोलमा अति व्यस्तता झन् थपिन्थ्यो। भदैया धानबालीको ताजा परालको सुमधुर गन्धले वातावरण कति मनमोहक हुन्थ्यो भन्ने कुरा धेरैलाई अनुभूति होला। परालको सुगन्ध, बिहानपखको हल्का चिसोपन, दिउँसोको कडा घामलगायतका परिवर्तनशील मौसम असोज महीनाको परिचायक हो र यस्तो अनुभूति हुन्थ्यो कि दशैं आयोे। पुराना पुस्ताले जुन साक्षात् अनुभूति गरिसकेका छन्, त्योभन्दा पनि अनौठो प्रकारको सुखद अनुभूति नयाँ पुस्ताले गर्न सक्लान् तर शुद्ध प्रकृतियुक्त विगतका मनमोहक पलहरू हालका पुस्ताको लागि सपना जस्तै हो।
प्रकृतिमय देहात
    तीन दशकअघिसम्म देहात पूर्णरूपमा प्रकृतिको सन्निकट थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। घर–व्यवहारका अधिकांश आवश्यकताको आपूर्ति प्रकृतिबाट प्राप्त गरिन्थ्यो। पहिरनलगायतका लत्ताकपडा फेशनदारभन्दा पनि शरीरको सुरक्षालाई मध्यनजर गरी उत्पादन हुन्थे। नुहाउनको लागि माटो (पियरी माटी) प्रयोग गरिन्थ्यो। अपवादबाहेक देहातमा गोरु र गाई/भैंसी नभएको परिवार थिएन। यी पशुधनबाट मानिसलाई दूध, दही, गोबर, कृषि कार्य, ढुवानीलगायतका बहुसङ्ख्यक कार्य उपलब्ध हुन्थ्यो। अर्को शब्दमा भन्ने हो भने देहात पूर्णरूपेण प्रकृतिमय थियो।
एक हातले औंला र अर्को हातले पाइन्ट
    सबैभन्दा बढी बच्चा र युवाहरू उत्साहित हुन्थे। नयाँ लुगा र मेला भर्ने उत्साह यति हुन्थ्यो कि बच्चा र युवाले आमाबुबालाई खुशी पार्न आफैं भन्थे, “ए माई, गाडाहा में माटी आ पानी डाल दीं ? माटी हँचड दीं ? कोठरी में पुआरा बिछा दीं ?” कारण थियो मेला आउँदै छ र पैसा चाहिन्छ। काममा अल्छी गर्ने केटाकेटीहरूलाई भनिन्थ्यो, “ए साल के मेला देखावे लेईऐ ना जाएम, ना तडबडवा, ना बाँसुरी, ना जिलेबी, कुछु ना किनाई।” यति सुनेपछि त कुन यस्तो बच्चा थियो कि अभिभावकको अदब नमानोस्। नयाँ लुगा र मेला भर्न उत्साहित हुनुको कारण के थियो भने केटाकेटीहरूले रमाउने, मनोरञ्जन गर्ने यो अवसर वर्षमा एकपटक पाइन्थ्यो। ससाना बच्चाहरू अभिभावकको काँधमा र केही ठूला केटाकेटीहरू एक हातले हजुरबुबा/बुबाको औंला र अर्को हातले प्रायः तलतिर झरिरहने ढिला पाइन्ट समातेर रमाइलो गर्न जानुको आनन्द र उत्साह छुट्टै थियो। आज अभिभावकको जिम्मेवारीमा रहेका वृद्ध/वयस्कजनहरूलाई अतीतको सम्झना धेरै याद आउँदो हो।
अभिभावकलाई आर्थिक चिन्ता
    असोज र कात्तिक पर्वहरूको महीना हो। अतः आर्थिक व्ययभार बढ्नु स्वाभाविकै थियो। बालपन स्वभाव अनुसार बच्चा र किशोरहरूमा मेलाको उत्सुकता र उमङ्ग नहुने कुरै भएन तर अभिभावकजन पावन पर्वको बेला बढी चिन्तित हुन्थे। कारण थियो, आर्थिक समस्या। संसारमा लोभी/पापीहरूको उपस्थिति नरहेको देश वा स्थान विरलै कतै होला। देहात पनि अछूतो थिएन र छैन। सामान्यजनको प्रतिकूल परिस्थितिको फाइदा कथित साहुहरू उठाउँथे। सामान्यजन नगदी र अन्नपात ऋण लिन्थे र साहुजनहरूको धुत्र्याइँको शिकार बन्थे। चर्को ब्याजदरसहित ऋण बेहोर्न बाध्य हुन्थे।
मानव सभ्यता जोखिमपूर्ण
    विगतमा मानव सभ्यता पूर्णरूपेण प्रकृतिमा निर्भर थियो। पोखरी र ठूला–ठूला बगैंचा नभएको कुनै गाउँ थिएन। गाईवस्तु नपालेको कुनै घर थिएन। प्रायः मानिसको खरई (खर) र बाँसघारी थियो। चारैतिर हरियाली नै हरियाली। पुरातनकाल र परम्परागत जीवनशैली प्रकृतिको सामीप्य थियो। हाम्रा
पुर्खाहरू नितान्तरूपमा प्रकृतिमैत्री थिए भन्नुपर्छ। आज प्रकृतिको विनाशको सवालमा प्रत्येक मानवले आफैंसँग शत्रुता मोलिरहेका छन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला।
    मानव जीवनशैलीमा विज्ञानको प्रवेशले एकातर्फ आश्चर्यजनक प्रगति भइरहेको छ भने अर्कोतर्फ प्रकृतिमा परिरहेको प्रतिकूल असरले मानव सभ्यता जोखिमपूर्ण अवस्थामा छ। आज विभिन्न अप्राकृतिक रसायनयुक्त सामग्रीको प्रयोग, आधुनिक प्रविधिबाट बनेका ठूला–ठूला घर, कृषि कार्य, वनजङ्गलको विनाशलगायतका थुप्रै अप्राकृतिक गतिविधिको भर्पाइ बेला–बेलामा प्रकृतिले असुलउपर गर्ने अवस्थाको साक्षात् भुक्तभोगी र प्रत्यक्षदर्शी हामी मानवहरू नै हौं।
    भनाइको तात्पर्य यो होइन कि मानव सभ्यता आधुनिक र प्रगतिशील हुनुहुँदैन। यद्यपि २१औं शताब्दी प्राकृतिक युगबाट रसायन युगतर्फ उन्मुख छ र यसलाई रोक्नुपर्छ, जसको सृजनकर्ता स्वयम् मानव हो। यसर्थ, प्राकृतिक सन्तुलनको सवालमा सरकारदेखि नागरिकसम्म सबैको कर्तव्यनिष्ठ जागरूकता अनिवार्य छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here