उखु किसानले पाउने भए भुक्तानी

0

सर्लाही, १४ असोज/रासस
    जिल्लाका उखु किसानले पाउनुपर्ने सरकारी अनुदानबापतको रकम जिल्लामा पठाइएको छ। सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
    “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ,” कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए। गत आर्थिक वर्षमा किसानहरूले पाउनुपर्ने रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो।
    जिल्लाको सर्भे अनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो। आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो।
    हाल सो रकम दामासाहीका हिसाबले जिल्लागतरूपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो। केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए।
    बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्य–सचिव समेत रहेका कोलेनिका प्रमुख थपलियाले बताए।
    केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६.५६ तोक्ने क्रममा उद्योगीले रु ४७१.२८ तथा सरकारले प्रतिक्विन्टल रु ६५.२८ अनुदानस्वरूप किसानलाई उपलब्ध गराएको छ। सर्लाही मुलुकमैं सबैभन्दा बढी उखुखेती हुने जिल्ला हो। तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखुखेती हुने गरेको हरिवन–११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here