राधेश्याम पटेल, वीरगंज, १३ असोज/
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ मा विवाद उत्पन्न भएको छ।
महासङ्घले असोज १२ गते सम्पन्न गर्नुपर्ने प्रदेश महासङ्घको अधिवेशन मिलेर हुन नसक्दा दुर्ई समूहले छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरी सर्वसहमतले प्रदेश अध्यक्ष चयन गरेको दाबी गरेका छन्।
रौतहटका बासिन्दा तथा केन्द्रीय महासङ्घका उपाध्यक्ष रामजी साहले एउटा समूहको अध्यक्ष चयन भएको दाबी गरेका छन् भने अर्काे समूहको अध्यक्षमा पूर्वअध्यक्ष तथा वीरगंजका व्यवसायी शिवकुमार साह रहेको बताइएको छ।
एउटा समूहले वीरगंजको हरिओम पार्टी प्यालेसमा गोप्य अधिवेशन गरी पदाधिकारी चयन गरेको छ भने अर्काे समूहले धनुषाको ढल्केबरको सम्राट होटलमा गएराति अधिवेशन गरी ११ सदस्यीय पदाधिकारी चयन गरेको छ। रामजी साहले नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा मङ्गलवार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै शिवकुमार साहको समूहले गरेको अधिवेशन विधानविपरीत रहेकोले त्यसविरुद्ध बहुमत सदस्यको उपस्थितिमा आफूहरू ढल्केबरमा गएराति अधिवेशन गरी पदाधिकारी चयन गरेको बताए।
उनको समितिको उपाध्यक्षद्वयमा सन्तोष साह, विशेश्वरप्रसाद साह, सचिव भीमबहादुर विक, कोषाध्यक्ष देवकृष्ण सिंह, सहसचिव राकेश सर्राफ, सहकोषाध्यक्ष विश्वनाथ साह, सदस्यहरू प्रकाश विक, ध्रुव विक, राजकुमार साह, पूजादेवी साहलगायत रहेको निर्वाचन अधिकृत अधिवक्ता मन्सुरबाबू अन्सारीले बताए।
यता, हिजो वीरगंजमा सम्पन्न एउटा समूहको निर्वाचनमा शिवकुमार सर्राफ प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका थिए। विपक्षीले उच्च अदालतमा निषेधाज्ञा गराउन नसकेको र आफूले सार्वजनिक गरेको कार्यतालिका अनुसार एकल उम्मेदवार सर्राफ भएपछि निर्विरोध घोषणा गरेको निर्वाचन अधिकृत अधिवक्त विनय सिंहले बताए।
शिवकुमारको समूहमा उपाध्यक्ष प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिव विनोदकुमार भण्डारी, सहसचिव अमित गुप्ता, कोषाध्यक्ष कमलेश साह र सहकोषाध्यक्षमा भगवान साहलगायत सदस्यहरू रहेका छन्।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष दाबी गरेका रामजी साहले ७० जना सदस्य रहेको निर्वाचनमा ४८ जना आफूहरूको पक्षमा रहेको दाबी गरे।
तदर्थ समितिका पदाधिकारी एवं पूर्वअध्यक्ष शिवकुमार सर्राफले अल्पमतमा परेका कारण महासङ्घको केन्द्रीय समितिले असोज १२ गते छुट्टाछुट्टै प्रदेशको राजधानी जनकपुरमा अधिवेशन गर्न निर्देशन दिए तापनि सोको धज्जी उडाउँदै गुपचुप हिसाबले वीरगंजमा अधिवेशन गरी प्रदेश कमिटीमा एकलौटी राज्य स्थापित गर्न खोजेको आरोप लगाए।
दुर्ईवटा समितिको नामावली केन्द्रीय महासङ्घको बैठकमा प्रस्तुत गर्ने र छलफलबाट समस्या समाधानतर्फ पहल गर्ने अधिवेशनको लागि आमन्त्रित केन्द्रीय सदस्य भरत अग्रवालले पत्रकार सम्मेलनमा जानकारी गराए। जुन समिति विधानविपरीत गठन भएको हो, त्यो खारेज हुने वा मिलेर जाने विषयमा पनि संवाद भइरहेको उनले जानकारी गराए।