सर्लाहीका सो–ह क्रसर उद्योग बन्द

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सर्लाही, १३ असोज/रासस
    जिल्लामा गैरकानूनीरूपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्।
    वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
    उनले भने, “जिल्ला प्रशासन कार्यालयबाट मापदण्ड पुगेको प्रमाणित भएपछि स्थालगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका हाल सञ्चालनमा रहेका आठवटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी गरिरहेका आठवटा गरी १६ वटैलाई बन्द गरेका छौं।”
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक मार्ग, विद्यालय, स्वास्थ्य संस्था, क्षेत्र, ठूला नदी, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र  नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख रहेको छ।
    मापदण्डविपरीत तथा नवीकरण नभएका जिल्लामा सञ्चालनमा रहेको १६ वटा क्रसर उद्योगका सञ्चालकलाई सोमवारदेखि बन्द गर्न कडा निर्देशन दिइएको प्रहरी प्रमुख राठौरले बताए। क्रसर उद्योगमाथि विशेष निगरानी बढाइएको र क्रसर उद्योगको अनुगमन गर्दा मापदण्डविपरीत खोला, वनजङ्गल, बस्ती र विद्यालयनजीकसमेत सञ्चालनमा रहेको तथा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि यो कडा कदम चालिएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति अनुगमन मेथुर चौधरीले बताए।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा)ले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत सर्लाहीमा सञ्चालन हुँदै आएका क्रसर उद्योगको कागजात मगाएर वैधानिकताबारे बुझ्ने तथा अनुगमन गरी गैरकानूनी नठहरिएमा सञ्चालन हुन दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
    जिल्लाको बागमती, लालबन्दी, ईश्वरपुर, हरिपुरलगायतका स्थानमा वडाध्यक्षदेखि लिएर नगरप्रमुख, पूर्वमन्त्री, जिल्लाका टाठाबाठाले मनोमानीरूपमा क्रसर सञ्चालन गरिरहेका छन् भने कतिपय स्थानीय निकायले सङ्घीय सरकारको मापदण्डविपरीत जिल्लामा बन्द रहेका क्रसर उद्योगहरूलाई लोभलालचमा पारेर सञ्चालनको अनुमतिसमेत दिने तयारी गरेको पाइएको छ।
    जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता भएको भएपनि हाल आठवटा मात्र सञ्चालनमा छन्। बाँकी आठवटा बन्द अवस्थामा रहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्रकिशोर गुप्ताले बताए। यसरी मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा चुरेको अस्तित्व सङ्कटमा पर्नुका साथै रातारात चुरे विनाश भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस