राजनीति र विद्यार्थी

– कुमार रुपाखेती
    विद्यार्थीहरूलाई मुलुकको भविष्यको कर्णधार भनिए पनि राजनीतिक दलहरूले विद्यार्थीहरूलाई राजनीतिक ढाल र हतियार बनाए। प्रतिबन्धितकालमा पञ्चायती व्यवस्थासँग जोरी खोज्न अग्रपङ्क्तिमा विद्यार्थीहरूलाई नै राखिन्थ्यो। काङ्ग्रेसले नेपाली विद्यार्थी सङ्घ स्थापना गरेपछि कम्युनिस्टहरूले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन निर्माण गरे। देशी, विदेशी घटना र अन्त्य राजनीतिक इस्युहरूलाई मुद्दा बनाएर राजनीतिक दलहरूले कलेज, क्याम्पसमा पढ्नेहरूलाई मोहरा बनाउन थाले। त्यतिखेर नेविसङ्घ र अखिलको क्याम्पसस्तरीय युनियनको चुनावमा घमासान नै चल्दथ्यो। यही वीरगंजको ठाकुर राममा पनि अखिलको उम्मेदवार जिताउन उतिखेर विजय सिलवाल, रणध्वज कन्दन्वा, चिरञ्जीवी आचार्य आदि सक्रिय हुन्थे भने नेविसङ्घलाई जिताउन काठमाडौंलगायत जनकपुरबाट युवराज खातीहरू दलबलसहित आउँथे। विराटनगर क्याम्पसमा २०३८ सालमा आफ्नो सदस्य फणिन्द्र तिमल्सिना मारेको भन्दै अखिलहरूले विजय गच्छदारको एउटा आँखा नै फोडेर कानो बनाइदिए।
    २०३६ सालको अस्कलकाण्ड अझै धेरैको सम्झनामा होला। राजनीतिक दलहरूको लहलहैमा त्यतिखेर धेरै होनहार छात्रले ज्यान गुमाए, पढाइ बिगारे। विद्यार्थीहरूलाई हातमा लिन बुर्जुवा शिक्षा भन्दै बहिष्कारसमेत गर्न उस्काए। पञ्चायती व्यवस्था समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको राजनीतिबाट कमल थापा, दीपक बोहरा, निरञ्जन थापा, उत्तम राई, उत्तम पुन आदि राजनीतिको मूलधार हुँदै महत्वपूर्ण पदमा पुगे। मुलुकमा बहुदल आएपछि विद्यार्थी सङ्गठनहरूको महत्व घट्न थाल्यो र माउ पार्टीहरूका लागि यिनीहरू काउसो, घाँडो बन्न थाले। तर कमल थापाहरूको देखासिकी गर्दै नेविसङ्घ र अखिलका नेताहरूले हाकाहाकी आफ्नो माउ पार्टीसँग हिस्सा (पद, टिकट) माग्न थाले। फलस्वरूप गगन थापा, विजय गच्छदार, शङ्कर पोखरेल, स्व. रवीन्द्र अधिकारी, घनश्याम भुसाल, शशि श्रेष्ठ, योगेश भट्टराईहरू माथि उस्किने मौका पाए। यत्तिले नपुगेर ‘बूढा हटाऊ, युवा ल्याऊ’समेत भन्न थाले। अहिले थुप्रै युवा मुख्यमन्त्री, मन्त्री बने तर यिनको चरित्र पनि ‘जैसन गुरु, वैसन चेला’ मात्र साबित भयो। नेविसङ्घका संस्थापक अध्यक्ष देउवा त ज्ञानेन्द्रसम्मको दिन गन्तीका प्रधानमन्त्री बने। गिरिजाप्रसादसँग टक्कर लिने क्रममा काङ्ग्रेससमेत फोडे।


    राजनीतिक दलहरूले विदेश विभाग, महिला विभाग, स्कूल विभाग आदि बनाएर कार्यकर्ता समायोजन गर्ने प्रयत्न गरे। लोग्ने उत्तराधिकारीको रूपमा गणेशमानकी पत्नी, बाबुरामकी पत्नी, वर्षमान पुनकी पत्नी, पुष्पलालकी पत्नी, मदन भण्डारकी पत्नीहरूले राजनीतिक अंशसमेत पाए। बूढाखाडा नेताहरूको विकल्पका रूपमा आएका छात्र नेता, महिला नेत्रीहरूसमेत पदको शोभा र कुर्सीको गुलामीमा नै सीमित रहे। बिचरा देउवाकी पत्नी आरजु राणाको मात्र तालुमा आलु फल्न सकेको छैन। मुलुककै ठूला दल भनिने नेकपा र काङ्ग्रेसभित्र थुप्रै खेमा छन्, त्यसैले अचेल विद्यार्थीहरूसमेत आन्तरिक खेमामा विभाजित छन्। त्यसैले त काङ्ग्रेसमा रामचन्द्र पौडेल र नेकपामा माधव नेपाल खेमाका विद्यार्थी नेताहरू भुइँमैं छन्। काङ्ग्रेसमा रामचन्द्र र नेकपामा माधव नेपाल अचेल कमजोर देखिन्छन्। वीरगंजबाट नेविसङ्घको राजनीतिबाट सुरेन्द्रप्रसाद चौधरी, अजय द्विवेदीहरूमाथि आए भने अखिलबाट उर्मिला अर्याल, उदयराज पाण्डे, विमल श्रीवास्तव अघिल्लो पुस्ताका पछिल्लो सांसद बन्न भ्याए। यो धर्तीपुत्र भनेको कुन चिडियाको नाम हो मेरो मगजमा घुसेन ?
    माओवादी र एमाले छ्यासमिस भएर क्वाँटीझैं नेकपा भएपछि अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको चाहिं बेहाल नै भएको छ। ठूला दलहरूको देखासिकी गर्दै मधेसकेन्द्रित दलहरूसमेतले  विद्यार्थी सङ्गठन बनाए। प्रदेश नं २ मा मात्र सीमित यिनीहरू यदाकदा आफ्नो माउ पार्टीको इशारामा केन्द्रीय सरकारको विरोधमा उत्रन्छन्। अरू बेला यिनीहरू मौन हुन्छन्। बहुदल आएपछि महत्वपूर्ण पदमा पुगेका कतिपय युवा छात्र नेतामा ‘तातै खाउँ जल्दै मरौं’ प्रवृत्ति हावी भएको बुझिन्छ। कोरोना जस्तो महामारीका बखतमा त एउटा विद्यार्थी नेताले ब्रह्मलूट मचाएको कुरा ओपन सिक्रेटझैं छताछुल्ल भएको छ। खुकुरीभन्दा कर्घ लाग्ने भनेको यही हो। विद्यार्थीबाट राजनीतिमा आएकाहरू त झन् औंला दिंदा डुडुला निल्छन् रे। योगेश भट्टराईहरू त अलि रसिक हुने नै भए। कतिपय युवा नेता त सलामी रकम नलिई कुरै सुन्दैन भन्ने आरोप पनि तिनका साथीभाइहरू नै लगाउँछन्। यिनका लागि बाप बडा ना भैया, सबसे बडा रुपैयाँ भएको छ। राणाशासनसँग लडेको नेपाली काङ्ग्रेसले त्यतिखेर विद्यार्थी सङ्गठन बनाएर होइन, सैन्य दस्ता मुक्ति सेना बनाएर क्रान्ति सफल पारेको थियो। २०१७ सालको घटनापछि पञ्चायती व्यवस्थासँग लड्न, भिड्न विद्यार्थी सङ्गठन दमदार हुने विपीले महसूस गरे। विद्यार्थी फाँटको कुरा गर्दा होस् वा महिला नेतीको कुरा गर्दा होस्, शैलजा आचार्यलाई बिर्सन सकिंदैन। २०१७ सालमा महेन्द्र राजाले ‘कु’ गर्दा शैलजाले कालो पछ्यौरालाई झन्डा बनाएर एक्लै राजधानीमा प्रदर्शन गरिन्, जेल परिन्, भारत निर्वासनमा समेत चन्द्रशेखर जस्ता नेताहरूलाई विपीको नजीक पु–याइन्, इन्दिरा गाँधीलाई भेट्न र क्रान्तिका खातिर हतियार खरीद गर्न बङ्गलादेशसम्म पुगिन्।
    अचेलका नयाँ नेताहरू पो नयकी घोडी चाल देखावे मार्काका छन्। एउटा बूढाको कुरा सुनेर अस्ति तीनछक्क परें। उनका अनुसार २००७ सालमा राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि राणाहरूले बालक ज्ञानेन्द्रलाई राजा घोषित गरी राजकाज गरे। अनि अहिले बूढा, युवा, महिला नेत्री सबै फेल भएपछि एकपटक पुनः बाल नेता, बालक नेतालाई शासनको बागडोर दिए के खराबी होला र भने ? मैले उनलाई यस्तो गर्न मिल्दैन भने किनकि छोटा बच्चा (लडाकू) एउटा लेलिन विष्टले त प्रचण्डको नाकमा दम गरिराखेका छन्। हर्रो हगाएका छन्। अनि यस्ता विष्टहरू सत्तामा आए प्रचण्डहरूको पत्ता साफ हुने बताए। भनिन्छ, गणतन्त्रको नाममा अहिले नेपालमा बज्रस्वाँठहरूको रजगज चलेको छ रे। थोडा खाना बनारस रहना होइन अचेल त चार दिनकी चाँदनीवाला हिसाब किताब छ। सधैं सुनको अन्डा दिने कुखुरालाई काटेर एकैचोटी सबै अन्डा लिन खोज्ने बज्रस्वाँठहरूद्वारा अहिले हामी शासित, शोषित छौं। कुनै बेला क्रान्तिकारी मानिने अखिल, नेपाल विद्यार्थी सङ्घ अझै अस्तित्वमैं छन्। तर अहिले यी सङ्गठनहरू लुला, लङ्गडा, काना प्रतीत हुन्छन्। सत्ताका हनुमान बनेका यिनीहरू अचेल अन्याय अत्याचार देख्दैनन्। सुनको लङ्काको सपना देख्छन् अचेल यिनीहरू। यिनलाई त अचेल क्रान्तिकारी, जुझारू, विद्यार्थी सङ्गठन नै भन्न शर्म लाग्छ। यिनले त विद्यार्थीको नाकै काटे बा।
    २०३६ सालको जनमत सङ्ग्रहताका विपी कोइरालाले सोझो मनले राजाको र मेरो घाँटी एउटै भन्दा थुप्रैले नाकमुख खुम्च्याएर विपीलाई सत्तोसराप गरे तर अहिले सबैखाले भ्रष्टहरूले एउटै घाँटी बनाएर देश लुट्दासमेत हामी न नाकमुख खुम्च्याउन सक्छौं न गाली गर्न सक्छौं। अचेल त मैले प्रौढ नेतालाई प्रौढ लुटेरा गरी तीन श्रेणीमा वर्गीकरण गरेको छु। किनकि नेतागिरीको पगरी गुथेर यिनले लुट्ने र थुत्ने मात्र गरेर नेता भन्ने शब्दकै अपमान गरेका छन्। बरु त्यो सुल्ताना डाँकू (लुटेरा)ले धनिकलाई लुटेर गरीबलाई बाँड्थ्यो, हाम्रा लुटेराहरू त गरीबलाई लुटेर आफ्नो भकारी भर्दैछन्।
    विद्यार्थीको सबैभन्दा बढी दुरुपयोग त जनयुद्धमा भयो। जनक्रान्ति र परिवर्तनको नाममा प्रचण्ड, बाबुरामहरूले त कलिला विद्यार्थीहरूको काँधमा बन्दूक नै भिराइदिए। अहिले त्यही माओवादी नेकपामा रूपान्तरण भएपछि सत्तामा आएपछि टक्सार विभागझैं नोट छाप्न मस्त छन्। त्यसैले त अहिले राणा र शाहकालको कान काट्ने गरी भ्रष्टाचारको खेती मौलाएको छ। लुटेरामा परिणत भएका नेताहरू बाली काट्न व्यस्त छन्। अस्तु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here