प्रस, निजगढ, १२ असोज/
    वर्षाको समय अन्तिम भइसकेपछि पनि नदीजन्य पदार्थ उत्खननमा रोक लागि नै रहेको भन्दै नदीजन्य पदार्थ उत्खनन खुलाउन स्थानीयले माग गरेका छन्। नदीमा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्नसमेत समस्या भएको उनीहरूको भनाइ छ।
    अवैधरूपमा सङ्कलन, उत्खनन गरिएका नदीजन्य पदार्थ ग्रेभल, ढुङ्गा, बालुवा कुनै पनि हालतमा खरीद नगर्न निजगढ नगरपालिकाले स्थानीय क्रसर व्यवसायीहरूलाई निर्देशन जारी गरेपछि निजगढ–८ सुकुमबासी टोलका बासिन्दा र ट्याक्टरधनीहरूले आइतवार बिहानदेखि नदी खुलाउन माग गरेका थिए। उनीहरूले दबाबका लागि विरोध कार्यक्रम पनि शुरू गरेका छन्।
    आफूहरूलाई खोलामा जान नदिएसम्म ठेकेदारले ठेक्काद्वारा खरीद गरेको नदीजन्य पदार्थ पनि क्रसर उद्योग वा अन्यत्र ढुवानी गर्न नदिने भन्दै उनीहरूले सडक अवरुद्ध गरेका हुन्।
    गिट्टी, बालुवा चालेर जीविकोपार्जन गर्दै आएका सुकुमबासी टोलका बासिन्दालाई अहिले बिहान र बेलुकी छाक टार्न समस्या भएको छ। त्यसैगरी, ऋण काढेर ट्याक्टर खरीद गरेका ट्याक्टर साहुहरूले नदीजन्य पदार्थ ढुवानी गर्न नपाएपछि बैंकको किस्ता तिर्न नसकेको दुःखेसो पोखेका छन्।
     नगरपालिकाले नदीमा आश्रितलाई खोलामा पस्न नदिएको, तर ठेकेदारलाई भने गिट्टी, बालुवा बोक्न दिने गरेको भन्दै सुकुमबासी टोलका बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। जबसम्म आश्रित स्थानीयहरूको माग पूरा गरिंदैन, तबसम्म सडक अवरुद्ध जारी राख्ने ठूलोकान्छा कुशवारले बताए। उनी अढाई दशकदेखि बकैया खोलामा गिट्टी, बालुवा चालेर जीविकोपार्जन गर्दै आइरहेका छन्। त्यहाँ उनी जस्तै आश्रित धेरै छन्। “दशैं, तिहार नजिकिंदो छ। हामीलाई निजगढ नगरपालिकाले खोलामा जान रोक लगाएको छ। लकडाउन र वर्षाको समयमा ऋणमा चामल, दाल किनेर जसोतसो गुजरा चलायौं। अब कसरी खाने ?” कुशवारले गुनासो गरे। आन्दोलनकारी खोला आश्रितहरूले स्थानीय क्रसर उद्योगसमेत बन्द गराएका छन्।
    निजगढ नपाले ठेक्कामार्फत् उत्खनन गराइ ठेक्काभन्दा बढी निस्किएको नदीजन्य पदार्थलाई पुनः ठेक्का लगाइ  क्रसर उद्योग र नगरबाहिरसमेत बिक्री गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here