गर्भवती कोरोना पुष्टि, अस्पताल नपाएर घरमैं छटपटाउँदै

0

राधेश्याम पटेल, वीरगंज, ११ असोज/
    वीरगंजमा २६ वर्षीया गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा शनिवार भएको पिसिआर परीक्षणमा ९ महीनाकी गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
    साबिक पोखरिया नगरपालिका–७ रानीगंज, हाल वीरगंज–२४ रामगढवा (रानीघाट पुलनजीक) बस्ने २६ वर्षीया गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको निजका दाइले जानकारी गराएका छन्। ६ वर्ष पहिले तिनको भारत, रक्सौल, सहदेवा गाउँँमा विवाह भएको थियो। सङ्क्रमित महिला र निजका पति दुवैजना दाइको रामगढवास्थित घरमा लकडाउनदेखि नै बस्दै आएका छन्।
    शनिवार बिहान अचानक सास लिन समस्या भएपछि सीता हस्पिटलकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नीलम चौरसियाको क्लिनिकमा लगिएको थियो। बिहान लैजाँदा अस्पतालका स्वास्थ्यकर्मीसँग सोधपूछ गर्दा उनलाई फिजिशियनसँग चेकअप गराउन डा चौरसियाले सल्लाह दिइन्। डा नीलमले उनको शुरूदेखि उपचार गर्दै आएकीले उनैसँग उपचार गराउने परिवारको सोच थियो। उनले फिजिशियनसँग उपचार गराउन सुझाव दिएपछि नजीकै रहेको एडभान्स अस्पतालमा साढे ८ बजे परीक्षण गराउँदा चिकित्सकले उनको रगत जाँच र एक्स–रे गर्न अ–हाए।
    बिहान साढे ११ बजेसम्म सबै रिपोर्ट देखाउँदा चिकित्सकले छातीमा निमोनिया भएकोले तत्काल नारायणी अस्पतालमा पिसिआर परीक्षण गर्न पठाए। स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आयो। त्यसपछि नारायणी अस्पतालका चिकित्सकहरूले भर्ना गर्न नमिल्ने र वीरगंज हेल्थकेयर तथा गण्डक कोभिड अस्पतालहरू पनि बन्द भइसकेकाले घर लैजान उचित देखेर घर लान भने।
    तर सङ्क्रमित महिलाका दाइले आफ्नै ईरिक्सामा राखेर जिल्ला प्रहरी कार्यालय पर्साको गेट पुगे, तर पनि कसैले सहयोग गरेनन्। पीडित महिलाका दाइले एसपी/डिएसपीलाई बोलाइदिनू, बहिनीलाई कोभिड अस्पतलामा भर्ना गराइदिनु भनी विलाप गरिरहँदा पनि कसैले उनको वेदना सुनेन। गेटको सेन्ट्री पुलिसले पोजेटिभ केस यहाँ किन ल्याएको, अस्पताल लैजानु भनी धपाए।
    नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा लैजान तयारी गरे पनि त्यहाँ भर्ना गर्न नमिल्ने भएपछि उनी घर फिर्ता हुन बाध्य भइन्। घरमा राति अक्सिजन लगाएर राखिएको थियो। माटोको भाँडो बनाएर घर गुजारा चलाउने दाइको मन छटपटिरहेको थियो। सङ्क्रमित बहिनीको ४ वर्षे छोरा पनि छ।
    “गर्भवती महिला सङ्क्रमित भएपछि उपचारको लागि कहीं अस्पताल खाली छैन, बेड पाइएन” –उनले भने– “उपचार नपाएर केही गलत भयो भने जिम्मेवारी कसले लिने ?” वीरगंजमा ७० शय्या क्षमताको नेशनल मेडिकल कलेजका फोकल पर्सन डा. अशरफ हुसैनसँग कुरा गर्दा कोभिड अस्पताल सञ्चालन गर्ने बेला स्थानीय प्रशासनसँग गर्भवती, डायलासिस र शल्यक्रिया गर्ने खाले सङ्क्रमितको भर्ना र उपचार गर्न असमर्थ हुने जानकारी गराइसकिएकोले भर्ना नलिएको बताए। कोभिड अस्पताल सञ्चालन भएर पनि सङ्क्रमितको उपचार नहुनु र भर्ना नलिनु स्वास्थ्य सेवा एवं अस्पताल प्रशासनको चरम लापरवाही हो।
    यस विषयमा नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहसँग बुझ्दा नारायणी अस्पताल कोभिड अस्पताल नरहेको र कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई कोभिड अस्पतालमा रेफर गर्दै आएको बताए। उनले हालको अवस्थामा नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमैं भर्ना गरी उपचार गर्नु उपयुक्त हुने सुझाव दिए। “गर्भवतीलाई भर्ना गरी निमोनिया ठीक गर्नु छ, शल्यक्रिया गरी प्रसूति गराउनु छैन, कोभिड अस्पतालले भर्ना गर्नु ठीक होला” –उनले भने। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग बुझ्दा उनले घटनाबारे जानकारी भएको र गर्भवतीको नारायणी अस्पतालमा उपचार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइसकेको जानकारी गराए। “मैले पनि सुनेको छु, नारायणीका डाक्टरहरूलाई भनेको छु, तत्काल अस्पताल ल्याएर भर्ना गरी उपचार गर्नुहोस्, उपचार नपाएर कसैको ज्यान जानुहुँदैन।”

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here