प्रस, वीरगंज, ११ असोज/
वीरगंजको नारायणी अस्पताल, वीरगंज हेल्थकेयर र गण्डक अस्पतालमा कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएपछि अस्थायी कोभिड अस्पताल बन्द गरिएको छ तर नेशनल मेडिकल कलेजको नगवास्थित बाबा होटलमा रहेको कोभिड अस्पतालमा सङ्क्रमितहरू बढ्न थालेका छन्।
भदौ २६ गतेदेखि १७० शय्या क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएपछि आइतवार दिउँसोसम्म ३३ जना पुरुष उपचाररत छन्। जसमध्ये १६ जना आइसियूमा रहेको बताइन्छ।
अस्थायी कोभिड अस्पतालका फोकल पर्सन डा अशरफ हुसैनले २५ वटा आइसियू शय्यासहित अस्पतालले उपचार सेवा जारी राखेको बताए। उनले आइतवार एकै दिन दुईजना महिलासहित ९ जना सङ्क्रमित निको भएर घर फर्किएको बताए।
चिकित्सकका अनुसार आइतवार पर्साका एकजना ४९ वर्षीय गम्भीर सङ्क्रमित व्यक्ति र ह्दयघात खेपेकी बाराकी ४५ वर्षीया सङ्क्रमित निको भएर घर फर्केका छन्। त्यस्तै, पर्साका चारजना पुरुष, एकजना महिला, बाराकी एकजना महिला, एकजना पुरुष र रौतहटका दुईजना पुरुष निको भएर घर फर्केका छन्।
बाबा होटलमा हालसम्म १० जना निको भएका र चारजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
पर्सामा कोरोना सङ्क्रमणको कारण ४५ जनाको हालसम्म मृत्यु भइसकेको छ भने २ हजार ५ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गत शुक्रवारसम्म पर्साका २ हजार १ सय ३३ जना निको भएर घर फर्किसकेका छन् भने २७ जना सामुदायिक आइसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पर्सामा हाल २५० जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन्।