आन्तरिक राजस्व कार्यालय, वीरगंजले लक्ष्य भेटाएन

राधेश्याम पटेल, वीरगंज, ११ असोज/
    वीरगंज आन्तरिक राजस्व कार्यालय वीरगंज, पर्साले चालू आवको भदौ सम्मको राजस्व लक्ष्य भेट्न सकेको छैन।
    कोरोना महामारीको कारण अन्तःशुल्क र आयकर दाखिलामा कमी आएपछि कार्यालयले लक्ष्य अनुरूप राजस्व सङ्कलन गर्न नसकेको हो। कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोका अनुसार चालू आव २०७७–७८ को लागि कार्यालयले ८९ करोड १५ लाख ३६ हजार लक्ष्य पाएकोमा ७३.७२ प्रतिशत अर्थात् ६५ करोड ७२ लाख १९ हजार रुपियाँ मात्र सङ्कलन गर्न सकेको छ। यो लक्ष्यको २६.२८ अर्थात् २४ करोड कम हो।
         कार्यालयले अन्तःशुल्कतर्फ ३७ करोड ४७ लाख ९० हजार लक्ष्य पाएकोमा ५०.२९ प्रतिशत अर्थात् १८ करोड ८४ लाख ८० हजार, भ्याटतर्फ २८ करोड ६९ लाख ४२ हजार लक्ष्य पाएकोमा ३० करोड ५९ लाख ५६ हजार (१०६.६३ प्रतिशत), आयकरतर्फ २२ करोड १२ लाख ९० हजार लक्ष्य पाएकोमा ६९.०९ प्रतिशत अर्थात् १५ करोड ६ लाख ६८ हजार, घरबहालतर्फ ४९ लाख १६ हजार लक्ष्य पाएकोमा १२६.३८ प्रतिशत अर्थात् ६२ लाख १३ हजार, ब्याजकरतर्फ ३५ लाख १६ हजार लक्ष्य पाएकोमा ५९ लाख २ हजार गरी कुल ६५ करोड ७२ लाख १९ हजार राजस्व सङ्कलन गरेको उनले जानकारी गराए।
    पर्सामा पहिले सातवटा मदिरा उद्योग सञ्चालमा थिए, जसमध्ये ६ वटा बन्द भइसकेका छन्। एक मात्र हिमालयन डिस्टिलरी सञ्चालनमा छ। त्यसको पनि कोरोना महमारीका कारण ६ महीनादेखि उत्पादन ठप्प भएर राजस्व सङ्कलन प्रभावित भएको छ।
    त्यसैगरी आयकरतर्फ पुस मसान्तसम्म समय रहे तापनि करदाता निष्क्रिय देखिएको कर अधिकृत नेत्र घिमिरेको भनाइ छ। आन्तरिक राजस्व कार्यालय, वीरगंजले भदौमा मात्र ४० करोड ९६ लाख १७ हजार राजस्व लक्ष्य पाएकोमा ७१.९५ प्रतिशत अर्थात् २९ करोड ४७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो भने गत साउनमा ४९ करोड १९ लाख १९ हजार लक्ष्य पाएकोमा ७५.२२ प्रतिशत अर्थात् ३६ करोड २४ लाख ८२ हजार राजस्व सङ्कलन गरेको थियो।
    आयकर तिर्न सरकारले पुस मसान्तसम्म समय दिएको हुन्छ, जसमा व्यक्तिगत स्लेबमा ४ लाखसम्म आम्दानी गरेकोमा कर तिर्नु पर्दैन, सोभन्दा बाँकी १ लाखमा १० प्रतिशत, २ लाखमा २० प्रतिशत, ७ लाख माथिदेखि २० लाखसम्म ३० प्रतिशत र २० लाख माथिको रकममा ३६ प्रतिशत कर तिर्नुपर्ने नियम छ। त्यसैगरी निकाय(प्रालि/साझेदारी)ले २५ प्रतिशत आयकर तिर्नुपर्ने नियम छ।
    त्यसैगरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको ५ प्रतिशत ब्याज कर आन्तरिक राजस्व कार्यालयलाई बुझाउँछन्।
    भ्याट र अन्तःशुल्कको विवरण र शुल्क हरेक महीनाको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्छ। नबुझाएमा प्रतिमहीना १ हजार जरिवाना लाग्छ। भ्याट १३ प्रतिशत लाग्छ भने अन्तःशुल्क बहुदरमा फरक वस्तुमा फरकफरक लाग्ने गरेको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्