मधेसमा भानुभक्तको लोकप्रियता

0

-सञ्जय मित्र

तराई–मधेसका शिक्षित वा साहित्यमा दीक्षित व्यक्तित्वहरूको मूल आधार नै नेपाली भाषा र साहित्य हो । देशभरिको संवादको मूल माध्यम नै नेपाली भाषा बनिसकेको वर्तमान परिवेशमा नेपाली साहित्यका अध्येताहरूले भानुभक्त आचार्यलाई अन्तरह्दयदेखि सम्मान गर्दछन् । भानुलाई मधेसीले पनि उच्च सम्मान गर्दै आएका छन् ।
वास्तवमा नेपालको तराई–मधेसमा अहिलेसम्मको अवस्थामा नेपाली साहित्यकारहरूकै लोकप्रियता रहेको छ । स्थानीय मातृभाषाका साहित्यकारहरूको पनि नेपाली साहित्यप्रति प्रगाढ पे्रम हुनु तथा आफ्नो लोकप्रियताको कसी नेपाली साहित्यलाई मान्नु पनि नेपाली साहित्यकारहरू बढी प्रिय बन्ने कारणहरू हुन् । मूलधारको शिक्षामा नेपाली मातृभाषी साहित्यकारहरूको करीब एकाधिकार हुनु त मुख्य कारण हो नै । हाम्रो परम्परागत शिक्षा प्रणालीले पनि यसमा प्रभाव पारेको देखिन्छ । नेपाली मातृभाषीबीच प्रख्यात साहित्यकारहरू नै तराई–मधेसमा पनि प्रख्यात छन् । ती प्रख्यात साहित्यकारमध्ये भानुभक्त आचार्य पनि एक हुन् ।
देश–विदेशमा भानुभक्त आचार्यको लोकप्रियताको एउटा मापन रामायण रहिआएको छ । कतिपय सन्दर्भमा भानुभक्त आचार्य र रामायणलाई पर्यायको रूपमा पनि मान्दछन् तर भानुभक्तको लोकप्रियताको आयाम विस्तारमा तराई–मधेसमा रामायणको भूमिका छैन । रामायणले भन्दा भानुका अन्य सिर्जनाले उनलाई यस भूगोलमा परिचित गराएका हुन् । माध्यमिक तहसम्मको सामान्य शिक्षा पाएका मानिसले उनका रचना र जीवनी पढेर प्राप्त जानकारीको आधारमा उनीप्रति सम्मान र श्रद्धा गर्दछन् । भानुको विस्तारमा विश्वविद्यालयीय शिक्षा र आधुनिक सञ्चारमाध्यमको भूमिका पनि सम्मानयोग्य छ । उनीप्रति श्रद्धाको कारण सामान्य मानिसबाट पनि शिक्षा लिनुपर्ने, मानवले आफ्नो निजी सुख–स्वार्थलाई धान्दै पछिको लागि कुनै कीर्ति राख्नुपर्ने अनि आफूले गरेको काम पछिका पुस्ताले पनि सम्मान गर्ने किसिमको हुनुपर्ने चेतनाको विस्तार पनि हो ।
भानुको रामायणबाट देश र विदेशका नेपाली मातृभाषीबीच भाषिक एकीकरणको सन्दर्भ पनि निकै महत्वपूर्ण छ । भानुबाट देशको सेवा भाषा र साहित्यको माध्यमबाट पनि गर्न सकिन्छ र भाषा साहित्य पनि देशसेवाको माध्यम हो भन्ने कुरा सिकेका छन् ।

साथै आफ्नो मातृभाषामा साहित्यसिर्जना गरेर मातृभाषाको सेवा गर्नुपर्ने प्रेरणा पनि भानुबाट पाउन सकिन्छ । भानुबाट प्रेरणा लिएर देशका धेरै मातृभाषामा साहित्यसिर्जन हुन थालेको छ । आदिकवि भानुको प्रकाशले देशका हरेक मातृभाषा आलोकित भएको र भइरहने देखिन्छ । यसबाट भानुको अमरत्व प्रमाणित हुन्छ ।
भानुभक्त र रामायण दुवै पर्यायवाचीको रूपमा कतिपय अवस्थामा लिइने गरिएको भएपनि र तराई–मधेसमा पनि भानुभक्त आचार्य अत्यन्तै लोकप्रिय र स्थापित नेपाली साहित्यकार भएपनि रामायणको प्रभाव किन पर्न सकेन त ? तराई–मधेसमा रामायण पढिंदैन ? रामायण पढ्ने समुदायको बसोबास रहेको छैन त ?
तराई–मधेसमा पनि रामायण पढिन्छ । तराई–मधेसमा बोलिने मुख्य स्थानीय मातृभाषाका मातृभाषीहरूको सङ्ख्यालाई विचार गर्दा नेपालमा बोलिने सङ्ख्याभन्दा भारतमा बोलिनेको सङ्ख्या बढी रहेको छ । मैथिली, भोजपुरी, बज्जिका, अवधि आदि प्रमुख भाषालाई लिन सकिन्छ, उदाहरणको रूपमा । भाषासँगै संस्कृति पनि बढी मेल उतै खान्छ । यसले गर्दा भारतमा बढी प्रिय रहेको रामायण नै यस क्षेत्रमा पनि बढी लोकप्रिय हुुनु स्वाभाविक हो । भारतमा तुलसी दास र वाल्मीकिको रामायण धेरैले मन पराउँछन् र सोही अनुसार तिनै रामायणहरू बढी पढिएका छन् । यसैगरी, प्रायः हरेक मातृभाषामा रामायण प्रकाशित भइसकेको छ । आफ्नो मातृभाषामा रामायणको स्वाद पनि सम्बन्धित मातृभाषीहरूले लिइरहेका छन् । मातृभाषामा रामायण पढ्दा र हिन्दी सिरियलमा रामायण हेर्दा जुन आनन्द स्थानीयले प्राप्त गर्दछन्, त्यो आनन्द नेपालीमा लेखिएको रामायणमा स्थानीयले पाउन सकेका छैनन् । अझ २०६ वर्ष पहिले (विसं १८७१) जन्मेका र १५२ वर्ष पहिले (६ असोज १९२५) मृत्यु भएका भानुभक्तको रामायणको भाषा पनि वर्तमान नेपाली भाषाको भन्दा पृथक प्राथमिककालीन नेपाली साहित्यको भाषाजस्तो छ, जुन गैरनेपाली मातृभाषीको बोधगम्यताभन्दा बाहिर हुन गएको छ ।
संस्कृतिको विभिन्न क्षेत्रका हिन्दी भाषाको प्रभाव रहेको कारण हिन्दीमा अनुवाद गरिएका रामायणहरू पढ्न वा मातृभाषाका रामायण पढ्दा पाइने आफ्नोपन भानुभक्तीय रामायणमा नपाइँदा उति चर्चित हुन नसकेको हो । यद्यपि तराई–मधेसमा भानुभक्त आचार्य अन्य साहित्यकारहरू जस्तै प्रिय छन् ।
भानुभक्त आचार्यलाई मोतीराम भट्टले परिचित गराएका हुन् । मोतीराम भट्ट पनि तराई–मधेसमा प्रिय साहित्यकार हुन् । उनले नेपाली साहित्यमा भित्र्याएको गजल आजभोलि तराई–मधेसका सबैजसो भाषामा लेखिन्छन् । यो चर्चाको विधा पनि भएको छ । जब कसैले मोतीराम भट्टको विषयमा पढ्छन्, तब स्वाभाविकरूपमा भानुभक्त आचार्यलाई पनि पढ्छन् । यसबाट यो स्पष्ट हुन आउँछ कि भानुभक्त आचार्यलाई दोहोरो पढ्ने चलन छ । भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकविको उपाधि भट्टले नै दिएका हुन् ।
भानुलाई नेपाली साहित्यको भानु पनि भनिन्छ । भानुको अर्थ सूर्य हुन्छ र भानुदय भनेको सूर्योदय हो । नेपाली साहित्यको सूर्योदय भानुबाट भएको मानिन्छ । यद्यपि सूर्योदय हुनुभन्दा पहिले नै धरतीमा उज्यालो भइसकेको हुन्छ । धरतीबाट अँध्यारो भागिसकेको हुन्छ । भानुभक्त आचार्यभन्दा पहिले पनि नेपाली भाषामा साहित्यसिर्जन गर्नेहरू थिए । अन्य विभिन्न सर्जकले पनि साहित्यको विभिन्न विधामा विभिन्न किसिमले कलम चलाएका थिए । तर भानुभक्तबाट नेपाली साहित्यले जुन किसिमको सेवा प्राप्त गर्न पायो, त्यस किसिमको सेवा अन्य सर्जकबाट हुन नसकेको पाइन्छ । यसैले भानुको महिमालाई सर्वोपरि स्वीकार गरिएको छ । अझ तराई–मधेसमा त भानुभक्त आचार्यभन्दा पहिले पनि सर्जकहरू थिए, जसले साहित्यको सेवा गरेका छन् भन्ने विषयमा खासै प्रचारप्रसार हुन नसकेको देखिएको छ ।
भानुको प्रियता यस अर्थमा पनि वृद्धि भएको देखिन्छ कि कतिपय सन्दर्भमा मातृभाषाका साहित्यकारहरूलाई फलानो भाषाका भानुभक्त, फलानो भाषाका मोतीराम । यसरी मातृभाषाको सेवा गर्नेलाई पनि नेपाली भाषाका साहित्यकारहरूको अलङ्कार दिइनुको अर्थ हो भानु र मोतीले गरेका सेवा जस्तो आफ्नो मातृभाषाको सेवा अहिले गर्नुपरेको छ । हो, यसरी नितान्त मातृभाषाको सेवामा जुटेकाहरूले पनि भानुलाई सम्मान गरिरहेका हुन्छन् । यसबाट पनि भानुभक्तको लोकप्रियता बढाउन सहयोग गरेको देखिन्छ । यथार्थमा भानुभक्त तराई–मधेसमा पनि लोकप्रिय रहेका छन् । उनको स्मृति दिवस वा जन्मदिवसमा उनलाई सम्झे पनि र नसम्झे पनि ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here