पर्साको जीराभवानी गाउँपालिकास्थित भोलाटाँडीमा हाईटेन्सन लाइनको तार चुँडिएर २२० भोल्टको तारमा सर्ट हुँदा घरघरमा उच्च शक्तिको विद्युत् प्रवाह भयो । त्यति बेला स्विच बोर्ड छुन पुगेका एक महिला र उनको छोरा घाइते भए, संयोगले उनीहरूको ज्यान जोगियो । केही महीना पहिले ठोरी रामनगरमा त्यसैगरी घरघरमा उच्च विद्युत् प्रवाह हुँदा स्विच बोर्ड नै पड्किएर मानिस घाइते भए । अघिल्लो वर्ष वीरगंजको रानीघाट क्षेत्रमा पनि हाईटेन्सन लाइन चुँडिएर ४४० भोल्टको विद्युतीय तारमा सट्दा उपभोक्ताहरूको विद्युतीय उपकरणहरू जलेर नष्ट भएको थियो । उक्त घटनामा १५ वटा घरका पङ्खा, फ्रिज, बल, मोबाइल, टिभीलगायतका सामग्री खराब हुनुका साथै घरको वायरिङसमेत जलेको थियो । त्यसैगरी, वीरगंज मुख्य सडक क्षेत्रमा रूख ढाल्ने क्रममा विद्युतीय तारमा रूख बजरिंदा एक विद्यालयमा आगलागी भएको थियो । यस्ता घटनाहरू हामीकहाँ प्रायः भइरहेका छन् । तर यसलाई स्वाभाविक घटना र नियमित प्रक्रिया जस्तो सम्झिएर सहने उपभोक्तामा बानी परेको छ । मानौं, दैवी प्रकोप हो । प्रकृतिको इच्छामा कसले के गर्न सक्छ र भनेजस्तै गरी विद्युतीय दुर्घटनालाई पनि पीडित पक्षले चित्त बुझाइरहेका छन् ।
अधिकांश विद्युतीय दुर्घटनाहरू नाङ्गो तारको कारण भइरहेका छन् । जहाँ नाङ्गो तार छ, त्यहाँ घटना भएका छन् । हाईटेन्सन लाइन नाङ्गो छ, लो टेन्सनको तार पनि नाङ्गो छ । उक्त दुईमध्ये कुनै एउटा मात्रै तार कुचालक अर्थात् प्लास्टिक पाइपमा ढाकिएको छ भने दुर्घटना हुँदैन । त्यो अवस्थामा एउटा तारको विद्युत् अर्को तारमा प्रवाह हुन सक्दैन । उपभोक्तालाई जतिसक्दो गुणस्तरीय, खतरामुक्त तथा भयरहित, सहज र सुलभ विद्युत् सेवा उपलब्ध गराउने जिम्मेवारी विद्युत् प्राधिकरणको हो । सेवाका कारण कुनै घटना/दुर्घटना भएमा सोको जवाफदेही पनि प्राधिकरण नै हो । उपभोक्ता सचेत नभएको र आप्mनो अधिकारबारे जानकारी नरहेको कारण सेवाप्रदायक पक्ष गैरजिम्मेवार बनेको छ । हाम्रो मुलुकमा नाङ्गो तार आजभन्दा सय वर्ष पुरानो प्रविधि हो । त्यसपछि प्लास्टिक पाइपले ढाकेको तार र त्यसपछि तार भूमिगत गर्नेसम्मको प्रविधि नेपाल विद्युत् प्राधिकरणले भिœयाइसकेको छ । त्यसलाई तदारूकताका साथ कार्यान्वयन नगरेको मात्रै हो । काठमाडौं उपत्यकाका केही स्थानमा मात्रै तारलाई भूमिगत गरिएको छ । पर्सा, बाराका कतिपय स्थानमा कुचालकले ढाकेका तार छन् । तर त्यसलाई विस्तार गर्नेतर्फ सोच, योजना, कार्यक्रम भएपनि जाँगर छैन । जाँगर नभए डर वा करले मात्रै काम हुने हो, तर यहाँ त उपभोक्ता नै अचेत छ भने प्राधिकरणलाई के को डर ?
‘वर्तमान युगमा पनि बिजुलीको नाङ्गो तार’, लाजलाग्दो कुरा हो । विकसित मुलुकहरूमा बिजुली, टेलिफोनका तार भूमिगत भइसके । नाङ्गो तारले प्राधिकरणलाई पनि घाटा छ । घरदेखि खेतसम्म नाङ्गो तारबाट नै विद्युत् चुहावट हुने हो । नाङ्गो तारको कारण विद्युत्को कुल आम्दानीमा १५ प्रतिशतभन्दा बढी चुहावट भइरहेको छ । कालान्तरमा नाङ्गो तार विस्थापन गर्नु नै छ भने आज फेरि त्यही नाङ्गो तार विस्तार गर्दा लागत दोब्बर परिरहेको छ । सकिन्छ भने पक्की सडक तथा नालाहरू नबन्दै तार भूमिगतरूपमा बिछ्याउनु उत्तम हो । यसो गर्दा भोलि पक्की संरचना भत्काउन र बनाउन लाग्ने समय र खर्च जोगिन्छ ।