सन्तानको शुभकामनाका साथ जलाशयमा मनाइयो खरजितिया

0
249

प्रस, गरुडा, २६ भदौ/
    सर्लाही र रौतहटका महिलाहरूले आफ्ना सन्तानको सुखी तथा लामो जीवनको कामना गर्दै खरजितिया पर्व मनाएका छन्।
    शुक्रवार बिहान घरमैं नुहाएर पितृहरूलाई पारिवारिक चलन अनुसारको सामग्री चढाएर खरजितिया पर्वको समापन गरेका छन्। खरजितियाको समापनको बिहान माडभात, दहीच्यूरा, रोटीलगायतका सामग्री हुने गर्दछन्। खरजितिया व्रतको समापनमा पितृलाई चढाउने सामग्रीलाई स्थानीय बज्जिका भाषामा ओठरङ भनिन्छ।
    बुधवार बिहान नहाखाएके गरेर महिलाहरूले व्रतको सुरुआत गरेका थिए। नहाखाएके दिन घ्यू वा झिंगनीको पातमा तेल र पिना चढाइएको थियो, जसलाई तेलखरी चढाएको भनिन्छ। बिहीवार बिहान चार बजेतिर घरमैं स्नान गरी व्रतालु महिलाहरूले लोकदेवता जित र लोकदेवी जितवाहनलाई झिंगनीको पातमा दहीच्यूरा चढाएका थिए। दिनभरि निराहार बसेर महिलाहरू बिहीवार साँझको समयमा नदी वा जलाशयमा स्नान गर्दै जित र जितवाहनका साथै चिल्होसियारिनलाई बेलपत्र तथा तेल चढाएर खरजितियाको मूल व्रत गरेका थिए।
    हरेक सन्तानवती महिलाले अनिवार्यरूपमा खरजितिया व्रत गर्नुपर्ने लोकमान्यता रहेको छ। खरजितिया व्रत गर्नेले केही पनि काट्न तथा भाँच्न नहुने परम्परा रहेको छ। एउटा खर (सिन्को) पनि भाँच्न नहुने भएकोले यस व्रतको नाम खरजितिया रहन गएको हो।
    शुक्रवार बिहान ओठरङ चढाएसँगै खरजितिया पर्वको समापन भएको छ। कुनै पण्डित–पुरोहितको आवश्यकता नपर्ने खरजितिया व्रतको समापन व्रतालुहरूले केराउ र गाईको दूध खाएर गरेका छन्। स्थान र पारिवारिक पृष्ठभूमि अनुसार खरजितिया पर्व मान्ने चलनमा केही भिन्नता रहेको देखिए पनि मूलरूपमा सन्तानको भविष्यको शुभकामना पर्वको रूपमा महिलाहरूले परम्परादेखि नै मानिंदै आएको व्रतालु रेणु गुप्ताले बताइन्।
    मधेसभरि जितिया र खरजितिया एकै दिन करीब एकै किसिमले मनाइए पनि जितियाभन्दा खरजितिया व्रत अझ कडा रहेको छ। जितिया पर्व मान्नेले कामधन्दा गर्न पाउने हुन्छ तर खरजितिया व्रत गर्नेले कुनै पनि काम गर्नुहुँदैन भन्ने मान्यता प्रचलनमा रहेको छ।
    मधेसी हिन्दू समुदायले देशभरि आफ्नै संस्कृति र परम्परा अनुसार यस पर्वलाई मनाउने चलन छ। देशका अधिकांश थारू समुदायले पनि यस पर्वलाई उत्तिकै श्रद्धापूर्वक मनाउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here