प्रस, ठोरी, ८ असोज/
तीन दिनदेखि परेको झरीको कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।
लगातार तीन दिनको झरीका कारण कृषकहरूले धानबाली भिœयाउन सकेका छैनन् । ठोरीमा रहेका सबैजसो खहरे खोलामा बाढी आएको छ । ठोरीको ठुटे, ओढार, शिकारीवास, ओरिया खोलालगायतका ठूला खहरे खोलाहरूमा बाढी आएको छ । वडा नं ३ मा रहेको ओडार खोलाको पुल पूर्णरूपमा सञ्चालन नहुँदा आवतजावत प्रभावित बनेको छ । लामो समयदेखि सञ्चालनमा नरहेको उक्त पुलबाट हाल दुई पाङ्ग्रे सवारी पनि सञ्चालनमा समस्या भएको स्थानीय मुकुन्द ढुङ्गेलले बताए । अविरल झरीका कारण गापाका कतिपय स्थान डुबानमा पर्न थालेको छ । वडा नं ४ को विजयबस्तीका केही घर डुबानमा परेको स्थानीय युवा तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
लगातार परेको पानीका कारण ठोरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलवारदेखि अवरुद्ध विद्युत् सेवा सुचारु गर्ने प्रयास सार्थक भएको छैन । हिजो बुधवार साँझ केही बेर सुचारु भएपनि पुनः अवरुद्ध भएको थियो । अहिले ठोरी गापा अन्धकारमा छ । विद्युत् अवरुद्ध भएकोले अनलाइन शिक्षा पनि प्रभावित भएको छ । यसैगरी, इन्टरनेट सेवा र मोबाइल सेवा पनि कमजोर भएको छ । विद्युत् अवरोध भएपछि यस क्षेत्रमा मोबाइल सेवा प्रायः कमजोर हुने गर्छ ।