पालिकाको कार्यालय प्रमुखमा गैरप्रशासनिक कर्मचारीकै हालीमुहाली

0
168

प्रस, गरुडा, २४ भदौ/
    रौतहटका अधिकांश स्थानीय तहको कार्यालय प्रमुख प्रशासनभन्दा बाहिर तथा जुनियर अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै पालिकाको कार्यालय प्रमुख हुने प्रवृत्ति बढेपछि जिल्लाको अधिकांश पालिकाको कार्यालय प्रमुखमा गैरप्रशासनिक तथा जुनियर अधिकृतले जिम्मेवारी पाउने गरेका छन्।
    रौतहट, गरुडा नगरपालिकामा इन्जिनीयर मोहम्मद मुस्ताक आलम, वृन्दावन नगरपालिकामा इन्जिनीयर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इन्जिनीयर सञ्जय पाण्डे निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्। यसैगरी कटहरिया नगरपालिकामा लेखा अधिकृत रामप्रकाश साह, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवाविजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्ता निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन्। यसैगरी बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठाकुर, देवाहीगोनाही नगरपालिकामा राजदेव राम तथा दुर्गाभगवती गाउँपालिकामा जगतकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।
    दुई गाउँपालिका र १६ नगरपालिका गरी जिल्लाका १८ स्थानीय तहमध्ये मौलापुर, गौर, ईशनाथ र माधवनारायण नगरपालिका गरी चार पालिकामा मात्र प्रशासन फाँटका अधिकृत कार्यालय प्रमुख छन्। जिल्लामा विभिन्न पालिकाको कार्यालय प्रमुखमा स्वास्थ्य, इन्जिनीयरिङ तथा स्थानीय तह अन्य क्षेत्रका कर्मचारीले जिम्मेवारी पाउँदा सम्बन्धित क्षेत्रको कार्य सम्पादन कमजोर हुँदै गएको भनी आलोचना भएको छ।
    यसैबीच राजपुरमा स्वास्थ्यतर्फको जनस्वास्थ्य अधिकृत रवीन्द्रकुमार झालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत र गरुडामा शाखा अधिकृत सिकिन्द्र साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको छ। मन्त्रालयले पठाएको कार्यालय प्रमुखलाई कतिपय पालिकाले हाजिरी नगराई फिर्ता पठाउने गरेका छन्।
    नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा रौतहटका केही निमित्त प्रमुख प्रशासकीय अधिकृत नायब सुब्बा नै रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here