स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्रीको आग्रह

0
195


प्रस, वीरगंज, २३ भदौ/
    मुख्यमन्त्री लालबाबूराउत गद्दीले कोरोना महामारीको चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्न जोड दिएका छन्।
    मङ्गलवार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै मुख्यमन्त्रीले सो कुरा बताएका हुन्।  प्रदेश २ का अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरूलाई अस्पतालमा थप सुधारको आवश्यकता रहेको बताउँदै गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पताल सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको बताए।
    मुख्यमन्त्री गद्दीले भने–“हाम्रो प्रदेशमा स्वास्थ्य संस्थाहरूको अवस्था विगतदेखि नै दयनीय छ। सुधारका प्रयास थालेका छौं, अहिलेको कोरोना महामारी चुनौतीको रूपमा रहे पनि स्वास्थ्य संस्थाहरूको सुधारको लागि यसलाई हामीले अवसरको रूपमा प्रयोग गर्नुर्छ।”
    उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै अग्रणी भूमिकामा रहेका स्वास्थ्यकर्मी चिकित्सकहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
    सामाजिक विकासमन्त्री नवलकिशोर साहले अस्पतालहरूको सुधारमा प्रदेश सरकार लगानी गर्न तयार रहेको बताए।
    सङ्घीय सांसद् एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालमा विद्यमान स्रोत साधनको अधिकतम प्रयोग गर्न सुझाव दिए। जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले प्रादेशिक ल्याबको आफ्नै भवन निर्माण गर्न जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
    कार्यक्रममा नारायणी अस्पताल वीरगंज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलङ्गवा अस्पताल, चन्द्रपुर अस्पताल र कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरूले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारहरूबारे प्रस्ताव पेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here