पर्साको ग्रामीण क्षेत्रमा यात्रीहरू ठगिंदै

प्रस, पोखरिया, ७ असोज/
    असोज २ गतेदेखि भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पर्सा जिल्लाको भिस्वाबाट दैनिक ६ वटा रात्रिबस अहिले सञ्चालनमा छन्।
    सीमा सिल भएपनि बसमा यात्रा गर्नेहरू अधिकांश भारतीय हुने गरेका छन्। उनीहरू चोर बाटोबाट नेपाल प्रवेश गर्ने र रात्रिबसबाट काठमाडौं जाने क्रम जारी छ। रात्रिबसमा कुल सिट सङ्ख्याको पचास प्रतिशत अर्थात् २० जना यात्री राख्न पाइन्छ। भारतीयको हकमा बस व्यवसायीहरूले भारतमैं तयार गरेको पिसिआर रिपोर्ट लिने गरेका छन्।
    भारतीयहरूसँग तोकिएको दरभन्दा दुई गुना बढी भाडा असुल्ने कार्य भइरहेको छ। प्रतियात्री सामान्य अवस्थामा रु ६ सय भाडा थियो। अहिले रु १४ सयसम्म भाडा लिने गरिन्छ। भारतीय यात्रीहरूले पनि सहजरूपमा रु १४ सय दिने गरेका छन्। उनीहरूकै कारण स्थानीयहरूलाई काठमाडौं यात्रा गर्न समस्या भएको छ। टिकट काउन्टरका कर्मचारीहरूले भारतीयहरूबाट बढी पैसा आउने हुनाले स्थानीयलाई सिट नभएको भनी फर्काउने गरेका छन्।
    भिस्वाबाट लङ्गडी, पोखरिया हुँदै वीरगंज भएर काठमाडौं रात्रि बससेवा सञ्चालनमा छ। अहिले ६ वटै बस टनाटन भरिने गरेको छ। यो रूटबाट पोखराको लागि पनि दुईवटा बस सञ्चालनमा छन्। अहिले ती बसहरू पनि काठमाडौंसरह भारतीय यात्रीहरूको भरमा चलेको छ।
प्रस, सेढवा/
    ठोरी गाउँपालिकाको ब्रह्मनगर, सुवर्णपुर, विजयबस्तीबाट रात्रिबस र टाटासुमोहरू सञ्चालनमा छन्। टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेसरह भाडा लिने गरेको दाबी गरे पनि यात्रीहरूले चर्को भाडा लिने गरेको गुनासो गरेका छन्।
    सुवर्णपुर, विजयबस्तीबाट चितवनको माडी भएर काठमाडौं जाने बसमा झनै बिजोग छ। यात्रीसँग चर्को भाडा लिने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पूरा गरिंदैन। सिट सङ्ख्या अनुसार यात्री राख्ने र स्थानीय यात्रीलाई चितवनसम्म सिटबाहेक पनि बसालेर लैजाने गरिन्छ। यसबाहेक ब्रह्मनगरबाट वीरगंज रात्रिबस सञ्चालनमा छ भने विजयबस्तीबाट टाटासुमो सञ्चालन छ। यिनीहरूले पनि तोकिएको भाडाभन्दा बढी लिने गरेका छन्। ब्रह्मनगरबाट काठमाडौं रु ५५० भाडा हो तर रु ११ सय लिने गरिएको छ। सरकारले प्रचलित भाडामा पचास प्रतिशत मात्र बढाएर लिन निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here