भारतीय मजदूर दैनिक काम गर्न आउँछन्–जान्छन्

राधेश्याम पटेल, वीरगंज, ७ असोज/
    वीरगंजका दुर्ई भन्सार नाकामा कोरोनाको त्रास मत्थर भएको देखिएको छ।
    बिहान ९ देखि साँझ ५ बजेसम्म वीरगंज भन्सारको एकीकृत जाँचचौकी (आइसिपी) र श्रीसिया सुक्खा बन्दरगाहमा मालसामान लोड–अनलोड गर्न सयौं भारतीय मजदूरको भीड हुने गरेको छ। आइसिपी भन्सारमा भीडभाड हुने गरेको भन्सार अधिकारीहरू बताउँछन्।
    “दैनिक मालसामान ओसारपसार गर्नुपर्छ, पल्टी गर्नुपर्छ, भण्डारण गर्नुपर्छ,” वीरगंजका एकजना उद्योगीले भने, “भीडभाडबीच जुन हिसाबले काम भइरहेको छ, त्यसले सङ्क्रमणको जोखिम बढेको छ। भन्सार नाका वीरगंज मात्र हैन, देशकै प्रमुख शहरमा मालसामान पठाउने केन्द्र पनि हो, त्यो ठाउँमा लापरवाही गरियो भने देशभरि कोरोना सङ्क्रमण कसरी रोक्न सकिन्छ, हरेक गाडी र सामानको जाँचपासदेखि लोड–अनलोडमा गाइडलाइन बनाएर सेवा दिनुपर्छ।”
    व्यवसायीहरूका अनुसार आइसिपी भन्सार नाका भएर दैनिक ६ सय गाडी नेपाल प्रवेश गर्छन्। कतिपय गाडी आइसिपी भन्सारभित्रै सामान झारेर फर्किन्छन् भने सयौं गाडी वीरगंज–पथलैया औद्योगिक कोरिडोर र हेटौंडा, भरतपुर, पूर्वी नेपाल र काठमाडौं जान्छन्।
    पहिले गाडीहरू विसङ्क्रमित तथा क्वारेन्टाइनमा राखेर भित्र्याइन्थ्यो भने अहिले आएको केही मिनेटमैं स्वास्थ्य सतर्कता नअपनाइ प्रवेश गराइन्छ। वीरगंज भन्सारको आइसिपीमा दैनिक ४ सय मजदूर ज्यालादारीमा काम गर्छन्। तर उनीहरूले न मास्क लगाएका हुन्छन्, न त सेनिटाइज गरेका हुन्छन्। सोको व्यवस्था पनि कुनै निकायले गरेको देखिंदैन। धेरैजसो मजदूर भारतबाट लुकीछिपी प्रवेश गरेका हुन्छन्।
    “सशस्त्र प्रहरीलाई भारु सय रुपियाँ दिएर हामी आइसिपीमा काम गर्न आउँछौं,” भारत, बिहार, रक्सौल, पन्टोकाका सन्तोष साह बताउँछन्, “साँझ परेपछि आइसिपीको पश्चिमपट्टिबाट सिवान टोला हँुदै रक्सौल फर्कन्छौं।”
    भारत, बिहारमा कोरोना महामारी फैलिने क्रम तीव्र भए तापनि आइसिपीमा दैनिक भारतीय मजदूर आउनु र काम गरेर फर्कनु भन्सार प्रशासन, सुरक्षा अधिकारी तथा स्वास्थ्य अधिकारीको लागि टाउको दुखाइको कुरा हो।
    सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भने, “मलाई यसबारे सूचना आएको थियो, मैले श्रीसिया, अलौं र अमरपट्टि बिओपीलाई सीमा कडाइ गर्न निर्देशन दिएको छु,” उनले भने, “बिहान ९ बजे अलौं आसपासमा दुर्ई सय मानिस लाइन लाग्ने गरेको देखिन्छन्, सशस्त्र प्रहरीलाई झुक्याएर उनीहरू नेपाल प्रवेश गर्ने गरेका छन्।”
    भारतीय मजदूरहरू काम मात्र गर्दैनन्, नास्ता–पानी पनि खान्छन्, काम सकिएपछि नुहाउँछन्। भन्सार अधिकारीहरू कार्यालयमा काम गरिरहेका हुन्छन्, भारतीय मजदूरहरूको भीडभाड कार्यालयअगाडि देखिराख्दा पनि केही गर्न सक्दैनन्। श्रीसिया सुक्खा बन्दरगाहमा भारतीय गाडी आउँदैनन्, रेलबाट सामान आउँछ तर पल्टी गर्ने मजदूरहरू सुरक्षाका मापदण्डविना काम गरेको देखिन्छ।
    वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले जोखिमबीच सेवा प्रवाह गर्नुपर्ने चुनौती रहेको बताउँछन्। “गा–हो र निकै समस्या छ, तर के गर्ने ? सुरक्षा सतर्कता अपनाउने निकायले केही गरेको छैन,” उनले भने, “दुवै भन्सारको सञ्चालनको पाटो इन्टरमोडेलले हेर्छ, उसले यस विषयमा ध्यान दिनुपर्छ।”
    वीरगंज भन्सारको आइसिपी र ड्राइपोर्ट भन्सार सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी भन्सार शाखाका प्रमुख कमल ज्ञवालीले सावधानी अपनाएर काम गर्न निर्देशन रहे तपानि लुकीछिपी भारतीय मजदूर आइरहेको आफूलाई थाहा भएको बताए। उनले भारतीय र नेपाली एजेन्टलाई कार्ड इस्यु गरी प्रवेश गर्ने वातावरण मिलाएको र भित्र काम गर्ने सिलसिलामा भीडभाड पनि नहोस् भनी सचेत पारेका छौं भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here