प्रस, असोज ७, वीरगंज/
कोरोना पराजित गर्नेलाई समाजमा घुलमिल गराउन नागरिक समाजको दायित्व रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बन्जाराले बताएका छन्।
मध्य नेपाल मिडिया प्रालिले आयोजना गरेको प्रोत्साहन तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाराले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा कोही सङ्क्रमित हुँदैमा घरमा बस्न नदिने, भेदभाव गर्ने काम निरुत्साहित गर्न नागरिक समाज अघि सर्नुपर्ने बताएका छन्।
‘मध्य नेपाल सन्देश’ पत्रिकाकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरोना सङ्क्रमित भएर उपचारपश्चात् घर फर्केका सञ्चारकर्मी जियालाल साहलाई सम्मान गरिएको थियो।
पर्सा जिल्लाबाट प्रकाशित मध्य नेपाल सन्देश पत्रिकामा प्रारम्भदेखि काम गर्दै आएका तथा नेपाल पत्रकार महासङ्घका कार्यसमिति सदस्यसमेत रहेका जियालाल साहलाई प्रोत्साहन स्वरूप ११ हजार १ सय नगदसहित सम्मान गरिएको थियो।
साह कोरोना सङ्क्रमित भई आइसोलेशनमा रहँदासमेत प्रविधि प्रयोग गरी आफ्नो जिम्मेवारी वहन गरेका थिए। कोरोनालाई पराजित गरी फर्केका पत्रकार साहको उच्च मनोबलको कदर गर्दै कोरोना बीमाबापतको रु १ लाखको चेकसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो।
सञ्चारकर्मी गीता भण्डारीले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी विजय भण्डारी, सुरेश बिडारी, प्रणय साह, नीलम पन्तलगायत उपस्थित थिए।