क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

124

भरतपुर, ७ असोज/रासस
    नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ। भरतपुरमा मङ्गलवार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो। पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ।
    पुरुषतर्फ ग्रेड ‘ए’मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन। ग्रेड ‘बी’मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ परेका छन् भने ग्रेड ‘सी’मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमलसिंह ऐरी रहेका छन्।
    यस्तै, महिलातर्फ ग्रेड ‘ए’मा रूबिना क्षत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उनका अनुसार ग्रेड ‘बी’मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन्। यस्तै, ग्रेड ‘सी’मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन्।
    पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए। यस्तै, पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरूको पनि पारिश्रमिक तोकिएको छ। ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन्। अध्यक्ष चन्दले भने– “पहिलोपटक हामीले महिला खेलाडीसँग पनि सम्झौता गरेका छौं, यो सुखद सुरुआत हो।” यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए। क्यानले तोकेको तलब रकम खेलाडीहरूले जनवरी २०२० देखि नै पाउनेछन्।
    क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकोले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो। “परिस्थितिले अनुमति दिए भौतिक उपस्थितिमा साधारणसभा गर्छौं, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ” –अध्यक्ष चन्दले भने।
    नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। सन् २०१७ र २०१८ मा आइसिसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो। क्यानले उनलाई ग्रेड ‘ए’मा राख्दै दुर्ई वर्षको तलब दिने निर्णय गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्