भारतीयहरूले वीरगंजमा गराउन थाले पिसिआर परीक्षण


राधेश्याम पटेल, वीरगंज, ५ असोज/
    भारतीयहरूले नियमविपरीत वीरगंजमा पिसिआर परीक्षण गराउन थालेका छन्। पर्सा र बाराका ग्रामीण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगंज पुगेर उनीहरूले पिसिआर परीक्षण गर्ने गरेको खुलेको हो।
    नारायणी अस्पताल पिसिआर प्रयोगशालाले आइतवार राति सार्वजनिक गरेको नतीजा अनुसार पर्साका १७७ र बाराका १५ गरी १९२ जनाको पिसिआर परीक्षण गर्दा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा पर्साका ३८ वर्षीय, बाराका ५९ वर्षीय, सर्लाहीका ४४ वर्षीय गरी तीनजना पुरुष छन्। सर्लाहीका युवक वीरगंजमैं बसोबास गर्छन्। ५ जनामध्ये २ जना भारतीय नागरिकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनीहरू कहाँका हुन् र कसरी पिसिआर परीक्षण गराए भन्नेबारेमा नारायणी अस्पतालले स्पष्ट विवरण खुलाएको छैन। दुर्ईजना भारतीय नागरिकको उमेर ४१ र ५८ वर्ष रहेको छ।
    अहिले नारायणी अस्पतालमा दैनिक ८० देखि सयजनाको पेड पिसिआर परीक्षण भइरहेको छ। दुर्ई हजार शुल्क तिरेर गराइने पिसिआरमा दैनिक ३० जना जति भारतीय नागरिक हुने गरेको नारायणी अस्पताल स्रोतको दाबी छ। “केही दिनदेखि भारतीयहरूको नेपाली आफन्तको नागरिकताको प्रतिलिपि र कन्ट्याक्ट ट्रेसिड्ढो ठेगाना उपलब्ध गराएपछि मात्र पिसिआर परीक्षण गरिरहेका छौं,” नारायणी अस्पताल पिसिआर प्रयोगशालाकी प्रमुख डा नीरा पाठकले भनिन्, “उक्त कुरा कानूनसम्मत हो वा होइन मलाई थाहा भएन।” नारायणी अस्पतालको स्रोतका अनुसार भारतीयलाई यसरी सुविधा दिइयो भने काठमाडौं, भरतपुुर, पोखरा, पूर्वका जिल्लालगायतमा रोजगार गर्न जाने भारतीयहरूको लर्काे नेपाली सीमा लाग्नेछ।
    “भारतीयहरूले वीरगंजका आफन्तजनको नागरिकता उपयोग गरी पिसिआर परीक्षण गराइरहेका छन्, उनीहरूले अवैधरूपमा नेपाल प्रवेश गरी यहाँको स्वास्थ्य सेवाको लाभ लिइरहेका छन्,” एक चिकित्सकले भने, “भोलि अवस्था भयावह हुन सक्छ, भारतमा अहिले कोरोना महामारी तीव्ररूपमा बढिरहेको छ, सीमानाकामा अवैध घूसपैठलाई रोक्नुपर्छ, अर्को कुरा यदि कोही भारतीयमा सङ्क्रमण देखियो र ऊ भाग्यो भने उसको जिम्मा कसले लिने ?” एकातर्फ पर्सा, बारामा परीक्षण घटाएर ग्रीन जोन बनाउने हतार छ भने अर्कोतर्फ भारतीयहरू धमाधम नेपाल भित्री पिसिआर परीक्षण गराइरहेका छन्। यस्तो कार्य रोक्नुपर्ने चिकित्सकहरूको भनाइ छ।
    यस विषयमा सशस्त्र प्रहरी बल १३ नं गण (पर्सा सशस्त्र कार्यालय)का प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्कासँग बुझ्दा उनले आफूले पनि भारतीयहरू गोप्यरूपमा नेपाल प्रवेश गरिरहेको सुनेको र सोलाई मध्यनजर गर्दै आफू मातहतका सबै बिओपीलाई निर्देशन दिइसकेको बताए। “अहिले पनि अलौंमा दुईजना भारतीय सीमापारि रोकिएका छन्, मैले हिजै सबै बिओपीलाई सीमानाकामा कडाइ गर्न भनिसकेको छु,” उनले भने, “तैपनि फेरि बुझ्छु।”
    पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भारतीयहरूको गैरकानूनी नेपाल प्रवेशमा अङ्कुश लगाउन जिल्ला सुरक्षा समितिको बैठकमा छलफल हुने बताए। उनले विगतमा कडाइ गर्दै आए तापनि कुनै कुनै नाकाबाट भारतीयहरू प्रवेश गर्ने गरेको सूचना आफूले पाएको बताए।
    सीमानाका सिल भएको कारण भारतीय मजदूरहरू वैधरूपमा नेपाल आउन सकिरहेका छैनन्। बिहार र उत्तरप्रदेशका मजदूरहरू पर्सा र बाराको नाकाबाट अवैधरूपमा वीरगंज आइपुग्छन्। आफन्तजनको नागरिकता देखाएर पेड पिसिआर परीक्षण गराउँछन्। नेगेटिभ आयो भने वीरगंजबाट बसमा काठमाडौं, पोखरा, भरतपुर, हेटौंडालगायतका शहरहरूमा पुगिरहेका छन्। पोजेटिभ आयो भने आफन्तजनको जिम्मेवारीमा उपचार गराउने एकजना भारतीयले बताए।
    यस सम्बन्धमा प्रजिअ तामाङले भारतीय नागरिकको हकमा नेपाली नागरिक वा निकायले कन्ट्याक्ट ट्रेसिड्ढो जिम्मा लियो र कागजात पेश गरी पिसिआर परीक्षण गराउन चाहयो भने परीक्षण गर्ने नियम छ। तर अवैध प्रवेश र प्रयोजन छ भने गर्न मिल्दैन भनी उनले प्रतिक्रिया दिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्