माधव तिमल्सिना, ठोरी, ५ असोज/
ठोरीमा रहेका सामुदायिक विद्यालय सञ्चालन तयारीका लागि सामुदायिक विद्यालयको अनुगमन तीव्र पारिएको छ।
ठोरी गाउँँपालिकाले गठन गरेको ७ सदस्यीय समितिले विद्यालय सञ्चालन कसरी गर्ने र तयारीको अवस्था कस्तो छ भन्ने विषयमा ठोरीका सामुदायिक विद्यालयहरूमा पुगेर सरोकारवालाहरूसँग छलफल तीव्र पारेको अनुगमन समितिका सदस्य सचिवसमेत रहेका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए।
शनिवारदेखि अनुगमन प्रारम्भ गरेको टोलीले सोमवारसम्म वडा १, २, ३ र ४ का सामुदायिक विद्यालयहरूको अनुगमन गरेको थियो। विद्यालय अनुगमनका क्रममा टोलीले सम्बन्धित विद्यालयका विव्यसका पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूसित अन्तत्र्रिmया गरी विद्यालयका समस्याहरूका साथै विद्यालय सञ्चालन सम्बन्धमा सम्बन्धित सबै पक्षको रायसुझाव सङ्कलन गर्ने गरेको शिक्षा संयोजक जोशीले बताए। तोकिएको समयावधिभित्र टोलीले ठोरी गापामा सञ्चालित सबै २१ वटा सामुदायिक विद्यालयमा पुगेर समस्या तथा सुझाव सङ्कलन गरी गापालाई अन्तिम प्रतिवेदन बुझाउने उनले बताए।
कोरोना महामारीका कारण देशमा गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दीले अहिलेसम्म बन्द हुन पुगेका विद्यालयहरू पुनः कसरी सुचारु गर्न सकिन्छ भन्ने सन्दर्भमा भदौ ३१ गते ठोरी गापाको कार्यालयमा बसेको सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष, गापा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सम्मिलित बैठकले अनुगमन टोली गठन गरेको थियो।