सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

0
213

काठमाडौं, १९ भदौ/रासस
    नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ। शुक्रवार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो दुई खेलअगावै सेमिफाइनलमा पुग्न सफल भएको हो। यसअघि सन्दीपको टोली जमैकाको बिहीवार राति सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो।
    उक्त खेलमा दुवै टोली एक/एक अङ्क बाँड्न बाध्य भए। तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ। उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ। जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौथो स्थानमा छ।
    लिगमा शतप्रतिशत नतीजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। उसले दुर्ई खेल खेल्न अझै बाँकी छ। लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।
    यस्तै, सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ। उसले हालसम्म आठ खेलमा पाँचमा जीत निकाल्दै १० अङ्क जोडेको छ। साबिक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुर्ईमा मात्र विजयी भई चार अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here