यात्रीहरूसँग पनि चर्को भाडा असुली

प्रस, वीरगंज, ४ असोज/
    वीरगंजबाट विभिन्न ठाउँका लागि सञ्चालित बससेवा शुरू भएपनि यात्रीहरूले चर्को भाडा तिर्नुपरेको गुनासो गरेका छन्।
    वीरगंजबाट काठमाडौं, पोखरा, नारायणगढ, जनकपुर, विराटनगरलगायतका ठाउँका लागि अहिले सार्वजनिक यातायात अन्तर्गत बससेवा शुरू भएको छ। सरकारले तोकिएको दररेटमा पचास प्रतिशत वृद्धि गर्न निर्देशन दिए पनि अहिले सोविपरीत मनोमानी तरीकाले भाडा लिइँदैछ। वीरगंजबाट चल्ने रात्रिसेवाका बसहरू र टाटासुमोले अचाक्ली भाडा लिने गरेको यात्रीहरूले गुनासो गरेका छन्। टाटासुमोले प्रतिव्यक्ति रु १५ सयभन्दा बढी भाडा लिने गरेको यात्रीहरूले बताए।
    वीरगंज बसपार्कमा टाटासुमो राखेर सेवा सञ्चालन नगरी दुई नं बाइपास सडकका ग्यारेजहरूमा लुकाएर राख्ने र यात्रीहरू जम्मा गरी बढी मूल्य लिएर पठाउने गरेको पाइएको छ। बसपार्कमा बढी भाडा लिंदा प्रहरी हस्तक्षेप हुने भएकोले दुई नं बाइपास सडकमा टाटासुमो राखेर यस्तो कार्य भइरहेको यात्रीहरूले बताए। अहिले टाटासुमोमा ५ जना यात्री मात्र लैजाने पाइन्छ।
    यसैगरी, बसमा तोकिएको सिट सङ्ख्याको आधा मात्र यात्रीहरू राखिने गरिएको छ। रात्रिसेवाका बसहरूले पनि बढेको भाडादरभन्दा २ सयदेखि ३ सय रुपैयाँ बढी लिने गरेको यात्रीहरूले बताएका छन्। डिलक्स, सुपर डिलक्स तथा एयर कन्डिशन बसले यात्रीहरूसँग मनोमानी भाडा लिइरहेका छन्। सार्वजनिक यातायातमा सवारी गर्नेहरू यात्रीहरूले अहिले अनिवार्यरूपले नेपालीको हकमा नागरिकता र भारतीयको हकमा पिसिआर रिपोर्ट हुनैपर्छ। तर बसपार्कका कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट तयार गरेर भारतीयहरूलाई पठाइरहेका छन्।
    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि वीरगंजका संयोजक सुमन श्रेष्ठले यात्रा गर्नको लागि भारतीय नागरिकको हकमा पिसिआर र नेपालीको हकमा नागरिकता हुनुपर्ने बताए। अहिले सार्वजनिक यातायातका सेवा लिनेहरूमा पोखरा, काठमाडौं, नारायणगढ जाने यात्रीहरूमध्ये पचास प्रतिशतभन्दा बढी भारतीय हुने गरेको उनको भनाइ छ। सीमा सिल भएको अवस्थामा भारतीय यात्रीहरूको आगमन आफैंमा खोजीको विषय भएको छ।
    लकडाउन, निषेधाज्ञासँगै करीब ६ महीनापछि सञ्चालनमा आएको सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरूसँग मनोमानी भाडा लिने कार्य भइरहे पनि यसको अनुगमन र यात्रीहरूको गुनासो बुझेर कारबाई गर्ने निकाय मौन छ।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्