नोवेल टेक्सटाइल्सको ११ करोडको होजियारी प्लान्ट आउँदै

0


प्रस, परवानीपुर, ४ असोज/
    चिनियाँ र भारतीय रेडिमेड कपडाको आयात कम भएपछि वीरगंजका उद्योगीहरूले गार्मेन्ट उद्योगतर्फ लगानी विस्तार गर्न थालेका छन्।
    विगत ६ महीनादेखि कोरोना महामारीको कारण बजार, व्यापार प्रभावित भएको छ। लकडाउनले नेपाल–भारत सीमा सिल हुँदा भारतबाट तस्करीमार्फत् तयारी कपडाहरू नेपाल भित्रिन पाएको छैन। जसले गर्दा स्वदेशी उद्योगहरू फस्टाउन थालेको वीरगंजका उद्योगीहरूको भनाइ छ। वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुरस्थित नोवेल टेक्सटाइल्स प्रालिले होजियारी धागो र कपडा उत्पादन गर्ने अर्को युनिट थपिरहेको छ। उद्योगका सञ्चालक रमेश गाडियाका अनुसार रु ५ करोडको मेशिन र भवन भाडा, बिजुलीलगायतमा रु ६ करोड गरी कुल ११ करोडको लगानीमा नोवेल टेक्सटाइल्सको अर्को प्लान्ट स्थापना भइरहेको हो।
    आगामी नोभेम्बरदेखि सञ्चालनमा आउने उद्योगको निटिङ फेब्रिक कपडा बुन्ने मेशिन चीनबाट आयात भएको तथा एयर कभरिङ मेशिन स्वीट्जरल्यान्डबाट आयात गरिएको उनले जानकारी गराए। विदेशबाट आयात तथा तस्करीबाट भित्रिने कपडाको परिमाण घट्दै गएको र महामारीको समयमा देशमा स्वदेशी उद्योगबाट उत्पादित कपडाको माग बढ्दै गएकोले वीरगंजका अन्य उद्योगीहरू पनि होजियारीका कपडा जस्तैः टीसर्ट, ट्र्याक सुट, लेगिङ्जलगायतका कपडा बुन्ने उद्योग लगाउनेतर्फ लगानी बढाउन थालेका छन्।
    “कोरोना महामारीले कपडा उद्योगको लागि अवसर प्रदान गरेको छ। पहिले भारतबाट तस्करीको माध्यम बर्सेनि अर्बौंको कपडा नेपाल भित्रिन्थ्यो, जुन अहिले सम्भव छैन। यस्तो बेलामा स्वदेशी उद्योगहरूलाई सरकारले सहुलियत दियो भने अहिलेको सङ्कटको बेलामा पाठ सिकेर हामी कपडा उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं,” गाडियाले भने।
    सो प्लान्टबाट मासिक १० टन धागो र ३५ टन कपडा उत्पादन हुने जनाइएको छ। पूर्ण स्वचालित प्रविधि रहेको सो उद्योगमा प्रारम्भिक चरणमा १२ जना प्राविधिकले रोजगार पाउने बताइएको छ।
    वीरगंजमा एउटा/दुई वटा मेशिन  राखेर कम्तीमा २० वटा होजियारी र ५० वटा जति कपडा उद्योग सञ्चालनमा छन्। उद्योगीले कपडा उद्योगजस्तै गार्मेन्ट (तयारी पोशाक) उद्योगलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन्। कपडा उद्योगले ब्याजदरमा ५ प्रतिशत सहुलियत पाउँछ भने गार्मेन्ट उद्योगलाई अहिले सरकारले सहुलियत दिएको छैन। फाइबर आयातमा शून्य प्रतिशत भन्सार महसूल, यार्नमा ५ प्रतिशत र रेडिमेड कपडा आयातमा १५ प्रतिशत रहेकोमा कम्तीमा १० प्रतिशत थप भन्सार महसूल बढाउँदा विदेशी रेडिमेड कपडाको आयात घटेर स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न सकिने बताइएको छ।
    विगत १५ वर्षदेखि सञ्चालित नोवेल टेक्सटाइल्समा वीरगंजका उद्योगी विनय साह, गणेश लाठ, चेतन गाडियाको लगानी रहेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here