प्रस, वीरगंज, ४ असोज/
    पर्साको ग्रामीण भेगदेखि शहरबजारमा चोरीका घटनामा वृद्धि भएको छ।
    जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका प्रहरी एकाइहरूमा दैनिक ३०/४० वटा चोरीका घटनाको उजूरी आउने गरेको छ। पसल तथा घरको ताला फोडी खाद्यान्नलगायत अन्य सामान चोरी हुने गरेको प्रहरीले जनाएको छ।
    लक्ष्मनवा निवासी राहुल गुप्ताको घरबाट शनिवार पाँचवटा मोबाइल चोरी भएको थियो। गुप्ताका अनुसार बिहान मर्निङवाक गर्न परिवारका सदस्यहरू घरबाहिर गएका बेला एकाबिहानै चोर घरमा प्रवेश गरी कोठामा चार्ज गर्न राखिएका पाँचवटा मोबाइल चोरी गरी लगेको थियो।
    नगवामा एक महीनाअघि एकजना चौरसियाको घरमा चोरी भएकोमा अहिलेसम्म प्रहरीले चोरलाई पक्राउ गर्न सकेको छैन।
    पोखरिया नगरपालिकामा तीन महीनामा आठवटा पसल तथा घरमा चोरी भएको पीडितहरूले जनाएका छन्। प्रहरीले चोर पक्राउ गर्नुको साटो सीमा क्षेत्रमा सर्वसाधारणले ल्याएका दैनिक उपभोग्य सामान पक्राउ गर्न व्यस्त छ।
    डोकैला बहुरी, लङ्गडीचोकमा पनि चोरीका घटना वृद्धि भएको छ। किसानहरूले सिंचाइको लागि खेतमा जडान गरेका पानी तान्ने मोटरहरू चोरी भएको छ।
    इलाका प्रहरी कार्यालय, पोखरियाले केही दिनअघि धोबिनी गाउँपालिकाको आसवारी तथा गुलरिया टोलमा दुईजनालाई खसी चोरेको आरोपमा पक्राउ गरेको इप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।
    गाउँका युवाहरू बेरोजगार भएपछि चोरीका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ। विभिन्न ठाउँमा रोजगार गर्ने युवाहरू कोरोना सङ्क्रमणको कारण गाउँमा आएपछि बेरोजगार हुँदा चोरीका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ। चोरीका घटना न्यूनीकरण गर्ने विषयमा प्रहरी सक्रिय रहेको एकजना प्रहरी अधिकारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here