सर्लाही, ४ असोज/रासस
जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ। लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करीब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ।
जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गोलभेंडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेंडा बाहिरिने गरेको कार्यालयले जनाएको छ। त्यस्तै, परवल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिन्डी, काउली, बन्दा, भान्टा, घिरौला, झिंगनी, लौका, फर्सी, मुन्गा, मुलालगायतका पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ।
तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारीखेतीप्रति आकर्षित हुँदै आइरहेका छन्। परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका सर्लाहीवासीले करीब एक हजार बिघा जमीनमा तरकारीखेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ।