प्रस, वीरगंज, ३ असोज/
संविधान दिवसको उपलक्ष्यमा बाराको महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज र लियो क्लब अफ, वीरगंज र गंजभवानीपुरले संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेको लियो क्लब अफ वीरगंजका सल्लाहकार आनन्द पटेलले बताए ।
कार्यक्रममा राजेश कुशवाहा, मुन्ना तिवारी, अशरफ देवान, प्रियङ्का दासलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
१५ जना कैदीबन्दी रिहा
संविधान दिवसको अवसरमा शनिवार वीरगंज कारागारका १५ जना कैदीबन्दी रिहा भएका छन । दिवसको अवसरमा देशभरका जेलबाट २८९ जना कैदीको बाँकी सजाय माफ गरी जेलमुक्त गर्ने निर्णय भएसँगै वीरगंज कारागारका १५ जना कैदी रिहा भएका हुन् ।
सजाय मिनहा भएर रिहा हुने कैदीहरूमा एकजना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकी महिला पनि छन् । त्यसैगरी, सवारी ज्यान मुद्दाका २ जना, कर्तव्य ज्यान मुद्दाका ३ जना, किर्ते मुद्दाका ३ जना, वन पैदावार मुद्दाका १ जना, चोरी मुद्दाका ३ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, डाँका चोरी मुद्दाका १ जना र सरकारी छाप दस्तखत किर्ते मुद्दाका १ जना गरी जम्मा १५ जनाको सजाय माफ भएको र उनीहरूलाई आज रिहा गरिएको वीरगंज कारागारका प्रमुख मातृकाप्रसाद दाहालले बताए ।