प्रस, वीरगंज, ३ असोज/
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी र रिलिफ सोसाइटी अफ कमर्स वीरगंजको आर्थिक सहयोगमा वीरगंज महानगरपालिका–८ का अतिविपन्न २५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
कार्यक्रममा अतिविपन्न २५ जनालाई चामल, दाल, प्याज, आलु, सोयाबिन, खानेतेल, मसला, नुनलगायतका आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो ।
लकडाउन र निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेका वीरगंज–८ गहवाका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष आश्मा सिंह यादवले बताइन् । उनले यसअघि गत भदौ २५ गते लिपनीमालमा अतिविपन्न ५० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको बताइन् ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज जय गहवामाईकी अध्यक्ष नीला रामले गरेकी थिइन् ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर शम्भु नकर्मी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट, डिस्ट्रिक्ट ट्रेजर शिव बिडारी, लायन्स क्लबकी जोन चेयरपर्सन गुड्डी जोशी, डिस्ट्रिक्ट डिपार्टमेन्ट सदस्य विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष प्रजय अग्रवाललगायत सहभागी थिए ।