प्रस, वीरगंज, २ असोज/
नारायणी अस्पतालमा जनरल सेवा शुरू भएको छ।
लकडाउन शुरू भएको एक महीनापछि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल त्यसको एक महीनापछि पुनः जनरल अस्पतालमा परिणत भएको थियो।
जनरल अस्पतालमा परिणत भएपछि सेवा सुचारु भएको एक महीनामैं सङ्क्रमण बढेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी ७१ जनाभन्दा बढी सङ्क्रमित भएपछि ओपिडीलगायतका जनरल सेवा ठप्प गरी आकस्मिक सेवा मात्र सञ्चालनमा थियो। चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी क्रमशः स्वस्थ हुँदै गएपछि अस्पतालले बिस्तारै एक/एक गरी सेवा सुचारु गर्दै गरेको र बिहीवारदेखि ओपिडीसहितको जनरल सेवा शुरू भएको हो।
नारायणी अस्पतालले ओपिडी सेवा दैनिक २५ जना बिरामीलाई हेर्ने गरी सञ्चालनमा ल्याएको छ। नारायणी अस्पतालमा जनरल सेवा शुरू हुनुपर्ने माग राख्दै घरमैं एक घण्टा धर्ना दिंदै आएका जसपाका नेता निजामुद्दीन समानीले जनरल सेवा सञ्चालन भएपछि धर्ना स्थगन गरेका छन्। उनले अस्पतालमा जनरल सेवा सञ्चालन भएपनि मिर्गौला रोगीहरूको उपचार गर्न जडित डायलोसिस मेशिनमध्ये केही बिग्रेको र सोको मरम्मत नगरिएको बताए। उनले अस्पतालमा थुप्रै सेवा सञ्चालनमा ल्याउनुपर्ने र त्यसका उपकरण मरम्मत गर्नुपर्ने प्रतीकलाई बताए।