प्रस, सेढवा, २ असोज/
वर्षाको कारण किसानहरूले लगाएको भदई, मन्सुली, सोना सारो, हर्दिनाथ धानबाली भित्र्याउन समस्या भएको छ भने योसँगै अहिले जङ्गली जनावरहरूले पनि धानबाली नष्ट गर्न थालेपछि किसानहरू दोहोरो मारमा परेका छन्।
लकडाउन, निषेधाज्ञा अवधिमा पर्सा जिल्लामा प्रत्येक दिनजसो पानी परिरहेको छ। पानी परेको कारण यस वर्ष सिंचाइको समस्या किसानहरूले झेल्नुपरेन र धानबाली सप्रेको पनि थियो तर अहिले त्यही पानीले गर्दा धानबाली भित्र्याउन समस्या भएको छ। भदौको अन्तिम सातामा तयार भएको भदई मन्सुली, सोना सारो, हर्दीनाथ धान भित्र्याउनुपर्नेमा अहिले वर्षाको कारण किसानहरूले भित्र्याउन सकेका छैनन्।
नियमित वर्षाको कारण धान सुक्न नपाउँदा ढुसी लाग्न थालेको जीराभवानी गापा–२ का किसान नागेश्वर महतोले बताए। खेतमा रहेका धानका बालामा झार उम्रिंदै गरेको र कटानी गरेर ल्याउँदा पनि नोक्सानी भएको उनले बताए। मौसमको कारण किसानहरूले सो समस्या झेल्नुपरेको छ भने अर्कोतर्फ धान पाकेसँगै राष्ट्रिय वन क्षेत्रबाट साना जङ्गली जनावरले धानबाली नष्ट गर्ने क्रम बढेको छ। हात्तीलगायतका ठूला जनावरहरू राष्ट्रिय जङ्गलमा लगाएको तारबारका कारण प्रवेश गर्न नसके पनि बँदेलहरू झुन्डमा आएर धानबाली नष्ट गर्ने गरेको किसानहरूले बताए।
जीराभवानी–५ सखुवनियाका महेन्द्र मुखियाले जङ्गली क्ष्Fेत्रमा रहेको धानबालीमा बँदेलहरूले पाकेको धान माडेर नष्ट गर्ने गरेको बताए। उनले दिउँसो बँदेल कम आउने तर राति ठूलो सङ्ख्यामा आएर धानबाली नष्ट गर्ने गरेको बताएका छन्। बँदेलले धानबाली नष्ट गर्न थालेपछि किसानहरूले मचान बनाएर निगरानी बढाएका छन्। राति चार/पाँच जना किसान छुट्टाछुट्टै मचान बनाएर बस्ने र बँदेललाई धपाउन टीन ठटाउने गरेका छन्। गडुवालाइन, क्षत्रीलाइन, शान्तिनगर, काठमाडौंटोल, हरैया र सखुनियाका किसानहरू रातभरि जाग्राम बसी जङ्गली जनावरहरू भगाउनमा केन्द्रित छन्।