कोरोना संस्कृति

0

– मुकुन्द आचार्य
    संस्कृति बन्न र बिग्रन लामो समय लाग्दछ। कुनै समयको कुनै समुदायको समाजको संस्कृति त्यत्तिकै बन्दैन। युगौं युग लाग्छ यसका लागि। यो चानचुने कुरो हैन।
    तर कुनै ठूलो घटना, दुर्घटनाले सभ्यता र संस्कृतिको निर्माण र विनाशमा ठूलो प्रभाव पार्न सक्छ। यस्ता परिवर्तनकारी तत्वहरूमा युद्ध, महामारी, कुनै ठूलो घटना, दुर्घटना र राजनीतिक परिवर्तन हुन सक्छन्।
    कोरोना अहिले यति व्यापक शब्द भएको छ। जसले बच्चादेखि बूढाबूढीसम्मलाई हल्लाइदिएको छ। हेर्दाहेर्दै कोरोेना संस्कृतिको विकास भयो। अब कसैले इतिहास लेख्न बस्यो भने कोरोनाकालको उल्लेख गर्नै पर्ने हुन्छ। नगरे मानव इतिहास पूर्ण हुुँदैन।
 अचेल कसैको घरमा जान मिल्दैन। जसकोमा तपाईं जानुहुन्छ, त्यो अभागी मान्छे भित्रभित्रै तर्सेको हुन्छ। उसको मनमा बारम्बार यस्ता खाले प्रश्न जन्मिरहन्छन्, त्यो अतिथि भएर आएको सोमत नभएको मुर्दाले कोरोना कीटाणुको उपहार पो ल्याएको छ कि ? हुनत यसले मास्क त लाएको छ। तर हात त खुल्लै  छ, यो मोराले कोरोना सारेरै मर्ने भयो कस्तो बेसोमती मुर्दो रे‘छ। यस्तालाई त पुलिसले ड्याड्ढा ड्याङ लाठोले किन हान्दैन होला। क्वै पनि आफ्नो काम राम्ररी गर्दैनन्।
    त्यसैगरी, पाहुना भएर प्रवेश गर्ने प्राणी पनि परम पीडामा हुन्छ। उसको सोच यसरी चलिरहेको हुन्छ– म निर्लज्ज भएर कसरी यहाँ आउन सकेको हुँला। आफ्नो घरमा बस्नेले किन मास्क लाएर बसेको होला ! पक्कै पनि यसलाई कोरोनाले अँठ्याएको छ। नत्रभने आफ्नै घरमा बस्नेले मास्क लाउने स्वाङ किन पाथ्र्यो ! अलि टाढै बस्नुपर्ला ! हे भगवान् रक्षा गर !
    यस्तो सोचेर ऊ अछूतझैं टाढै बस्ने दाउमा रहन्छ। पर सरेकी महिलाझैं ठान्छ।
    यसरी हेर्दा त स्वतः सामाजिक दूरी कायम भइराखेकै छ। ज्यानको डर कस्तो हुँदो रै‘छ।
    अब सडकमा हिंड्दा विचित्र चित्र सम्झनुस्। दुईजना विपरीत दिशाबाट आइरहेका छन्। दुवैले मास्क लाएका छैनन्। दुवैले एकअर्कालाई हान्ने साँढेझैं टाढैबाट हेर्दै परसम्म जान्छन्। यत्तिकैमा एकजनाले खोक्न थाल्यो। एकछिन खोकेर कफ फाल्न खोज्दै थियो उपयुक्त ठाउँमा। यो देखेर अर्को चैंलाई झन् बढी डर लाग्यो। ऊ त हिंड्दाहिंड्दै जगिङ गरे जस्तै गरेर दगुर्न थाल्यो। अलि पर पुगेपछि त्यो त कुलेलम…!
    कोरोना संस्कृतिको यो यौटा सानो उदाहरण मात्र हो। मान्छेलाई देखेर मान्छे तर्सने, दगुर्ने, भाग्ने, लुक्ने, बोल्नै नचाहने, हात मिलाउन पनि डराउने भनेपछि अङ्कमाल गरेर हृदय मिलाउनु त परै जाओस्। यस्तो जङ्गली पारामा कोरोनाले मान्छेलाई पु–याइदिएको छ। अब कसले भन्छ– अतिथि देवो भवः !
    अब त कुनै अपरिचितको घरमा झट्ट कोही पुगिहालेछ भने घरधनीले लाठो लिएर लखेट्न बेर छैन। अतिथि न सतिथि ! घरमा कुकुर पालेको छ भने कुकुर खोलेर अतिथितिर उम्काइदिए हुन्छ। त्रूmर कठोर कोरोना काण्डले हाम्रो प्राचीन आदर्श नारा ‘अतिथि देवो भव’लाई लात्ती हानेर कता पु–याइदियो कता ! यसरी संस्कृतिमा, सभ्यतामा परिवर्तन हुने गर्छ।
    कल्पना गर्नुस्, दुर्भाग्यवश तपैं कसैको घरमा पुग्नुभयो। ढोकामा पुग्नासाथ कुनै तीन/चार वर्षकी बालिकाले मीठो तोते बोलीमा सोध्छिन्– “अङ्कल/अन्टी ! तपाईंले हातमा सेनिटाइजर दल्नु भॉछ ? नदलेको भए त्यहाँ धारामा गएर साबुनपानीले हात राम्ररी मिचीमिची धोएर मात्रै घरभित्र आउनुस् ल ?” तपाईं त जिल्लाराम हुनै प–यो। यो हो कोरोना संस्कृति। लौ आफैं विचार गर्नुस् त कसरी फेरिंदो रै‘छ त सभ्यता र संस्कृति ? नपत्याए हेर्दै जानुस्, हाम्रो सामाजिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, धार्मिक मनोरञ्जन आदि प्रत्येक क्षेत्रमा कोरोनाले निकै प्रभाव पारेको देख्नुहुन्छ !

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here