खाली भए रौतहटका सबै क्वारेन्टाइन

प्रस, गरुडा, ३१ भदौ/
    कुनै बेला अत्यधिक चापले व्यवस्थापनमा निकै समस्या देखिएको रौतहटका सबै क्वारेन्टाइन खाली भएका छन्। जिल्लाका १८ वटै स्थानीय तहमा निर्माण गरिएका सबै क्वारेन्टाइन खाली भएका छन्।
    गत चैत ११ गतेदेखि भदौ मसान्तसम्म जिल्लामा १३० वटा क्वारेन्टाइन सञ्चालनमा आएका थिए। सबै क्वारेन्टाइनमा गरी जिल्लामा १३ हजार ७०० भन्दा बढी मानिस बसेर घर फिर्ता भएको तथ्याङ्क रहेको छ।
    विभिन्न समयमा भारत र अन्य देशमा रोजगारको खोजीमा गएका जिल्लावासी कोरोनाको कारण जताततै लकडाउनको शृङ्खला लम्बिंदै गएपछि घर फिर्ता भएका थिए। जिल्लाभन्दा बाहिरबाट आउनेलाई तत्कालीन निर्देशन अनुसार क्वारेन्टाइनमा बस्नुपरेको थियो।
    सबैभन्दा बढी भारतबाट आएर क्वारेन्टाइनमा बसेको पाइएको छ।
    क्वारेन्टाइनमा बस्नेहरूको सम्पूर्ण व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, रौतहटको निगरानीमा पालिकाहरूले गरेका थिए। करीब साढे दुई महीनासम्म क्वारेन्टाइनमा अत्यधिक चापका कारण खाना, पानी, शौचालय, सुत्ने व्यवस्थामा निकै समस्या पाइएको थियो। क्वारेन्टाइनको व्यवस्थापन गर्न नसकेको भनी केही असन्तुष्टहरूले आलोचना पनि गरेका थिए।
    कन्ट्याक्ट ट्रेसिङमा परेका, बाहिरी मुलुकबाट जिल्लामा आएका तथा सङ्क्रमणको लक्षण देखिएकाहरूसमेत नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी घरमैं क्वारेन्टाइनमा बस्न रुचाउने गरेकाले संस्थागत क्वारेन्टाइन खाली भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
    जिल्लाका अधिकांश सामुदायिक विद्यालय, क्याम्पस तथा मदरसालाई क्वारेन्टाइन बनाएर बाहिरबाट आएका मानिसलाई राखिएको थियो। अहिले जिल्लाको धरहरीमा रहेको जय किसान पोलिटेक्निक इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेशनबाहेक करीब सम्पूर्ण शिक्षालय खाली भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here