वर्षाको कारण किसानहरूलाई थप पीडा

0


ओमप्रकाश चौधरी, सेढवा, ३० भदौ/
    लगातार परिरहेको वर्षाका कारण पाकेको धानबाली खेतमैं उम्रिन तथा कुहिन थालेको छ।
    पर्सा जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौलीलगायतका गाउँपालिकामा हर्दीनाथ, भदई मन्सुली र सोना सारो जातका धान पाकेको छ तर दिनहुँको वर्षाका कारण बाली भित्र्याउन नसकेको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान जगदीश चौधरीले बताए। “धान पाकिसक्यो तर लगातारको वर्षाले खेतमा पानी बगेका कारण काट्न सकिएको छैन,” चौधरीले बताए।
    कतिपय किसानले कम्पाइन (हार्भेस्टर) मेशिनबाट धान काट्न नसकेर ज्यामी लगाएर धान ल्याए पनि घाममा सुकाउन नपाएर धानमा ढुसी लाग्न थालेको छ। खेतमा लागेको पानीका कारण हार्भेस्टरले धान काट्दा मेशिन नै भासिने गरेको छ।
    हार्भेस्टरबाट धान कटानी गर्दा प्रतिबिघा पाँच मन (दुर्ई क्विन्टल) धान तिर्नुपर्छ। वर्षाका कारण हार्भेस्टर चल्न नसकेपछि महँगो ज्याला तिरी ज्यामी लगाएर किसानहरूले धान काट्न थालेका छन्। ज्यामी लगाउँदा मन पसेरीको दरले ज्याला तिर्नुपर्छ। मन पसेरीमा एक मन अथवा चालीस किलो धानमा पाँच किलो धान ज्यामीले पाउँछ र बाँकी पैंतीस किलो धानबाट थ्रेसरलाई पनि तिर्नुपर्छ। ज्यामी लगाएर धान काट्दा उत्पादनको ४० प्रतिशत धान ज्यामीले लिन्छ, बाँकी किसानले पाउँछन्। तर वर्षाका कारण ज्यामीले समेत धान काट्न नसकेको किसानहरूको गुनासो छ। ऋण काढेर खेतीमा लगानी गरेका किसानहरूले अहिले बाली भित्र्याउन नसक्दा ठूलो समस्यामा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here