प्रस, ठोरी, २९ भदौ/
नेपाल मगर सङ्घ ठोरीले भारतमा मजदूरी गरी फर्कने क्रममा पर्साको ठोरीमा अलपत्र परेका पाल्पा घर भएका एकजना युवकलाई घरसम्म पु–याउने व्यवस्था गरेको छ।
भारतको काश्मीरबाट ठोरी नाका हुँदै गत भदौ १२ गते ठोरी आइपुगेका ४१ वर्षीय खिलबहादुर गाहामगरलाई एम्बुलेन्सको व्यवस्था गरी पाल्पा पु–याउने व्यवस्था मिलाइएको नेपाल मगर सङ्घ ठोरीका पुरन थापाले जानकारी दिए। थापाका अनुसार ठोरी गाउँपालिका–१ का दुईजना युवकसँगै उनी नेपाल फर्केका थिए। दुई दिनसम्म स्थानीय एक व्यक्तिको घरमा एक्लै बसेका उनलाई भदौ १७ गते ठोरी गाउँपालिका–२ स्थित सरस्वती माविको क्वारेन्टाइनमा लगेर राखिएको थियो।
भदौ २० गते पिसिआर परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो। भदौ २३ गते उनको रिपोर्ट नेगेटिभ आए पनि घर जान नपाएर उनी ठोरीमैं अलपत्र परेका थिए।
रिपोर्ट नेगेटिभ आएपछि उनी चौतारास्थित स्थानीयको सहयोगमा बस्दै आएका थिए। घर फर्कने कुनै विकल्प नभएपछि मगर सङ्घले एम्बुलेन्सबाट आइतवार पाल्पा पठाउने काम गरेको थापाले बताए।