प्रस, वीरगंज, ३० भदौ/
सरकारले नेपाल–भारत खुला सीमा कोरोनाको कारण गत वर्ष चैतदेखि बन्द गरेको छ। अहिले पनि सीमा बन्द नै छ तर पर्सा जिल्लामा लकडाउन, निषेधाज्ञाको अवधिमा पनि खुला सीमाबाट मानिसहरूको आवागमन जारी छ।
लकडाउन शुरू भएपछिका दिनमा तस्करहरूको लागि मात्र खुला सीमाबाट आवतजावत सहज थियो। त्यसपछि सर्वसाधारणहरू पनि खुला सीमाबाट आवागमन गर्दै आएका छन्। अहिले नाम मात्रको सीमा सिल छ। आवागमन निर्बाधरूपमा भइरहेको छ। खुला सीमाको कारण मुख्य नाकाबाहेक आवागमन जारी रहेकोमा वीरगंज–रक्सौल मुख्य नाकाबाट पनि मानिसहरूको आवागमन शुरू भएको छ।
नेपालबाट जानेहरू वीरगंज भन्सार कार्यालयअगाडि मोटरसाइकललगायतका सवारीसाधन राखेर मितेरी पुल हुँदै भारत जाने क्रम बढेको छ। अहिले सीमामा खटेका सुरक्षाकर्मीहरूले आवागमनमा रोक लगाएको छैन। भारतसँग जोडिएको बजारबाट मानिसहरूको खरीददारी शुरू छ। सिक्टादेखि लिएर रक्सौलसम्मको बजारमा मानिसहरू निर्बाधरूपमा आवागमन गरिरहेका छन्। भारतको बजार केही महीनाअगाडि पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जाने र किनमेल गर्नेहरूको सङ्ख्या बढेको हो। पर्साको ग्रामीण क्ष्Fेत्रमा लकडाउन शुरू भएदेखि नै मानिसहरूको आवागमन रोकिएको छैन।
वीरगंज महानगरपालिकाका विभिन्न नाकाहरूबाट पनि आवागमन भइरहेको छ। अलौं, श्रीसिया, भकुवा, इनर्वा, बलिरामपुरलगायतका क्षेत्रबाट मानिसहरूको आवागमन भइरहेको छ। दुवैतर्फका सुरक्षाकर्मीहरूले आवागमनलाई रोकेका छैनन्। तस्करीका सामान निर्बाधरूपमा नेपाल आउन दिएको कारण स्थानीयवासीले प्रहरीसँग ठाउँ–ठाउँमा झगडा गरी तस्करी रोक्न दबाब दिएपछि सर्वसाधारणको आवागमनमा पनि सीमामा खटेका प्रहरीले छुट दिएको हो।