बारामा काठ तस्करहरू वन कर्मचारीमाथि हावी

प्रस, निजगढ, ३० भदौ/
    बारामा तीन सातायता एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी भएको छ। सबडिभिजन वन कार्यालय मधुवन अन्र्तगत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो।
    जैतापुर, रामनगर, चौध किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख छानीछानी काटेर गोलिया बनाइ तस्करी गरिरहेका छन्। लकडाउन र निषेधाज्ञा अवधिमा काठ तस्करी बढेको जैतापुर वन रेन्जपोस्टका इन्चार्ज एवं फरेस्टर जयप्रकाश साहले बताए। उनले थोरै जनशक्ति र धेरै काठ तस्कर भएकाले वन संरक्षणमा कठिनाइ भएको बताए।
    केही दिनअघि काठ तस्करहरूले ककरी वन रेन्जपोस्टका इन्चार्ज अब्दुल करीम मियाँमाथि कार्यालय परिसरमा हातपात गरेका थिए। त्यस्तै, सबडिभिजन वन कार्यालय मधुवनको गस्ती टोलीलाई ३०/३५ जना काठ तस्करले लखेट्दै आक्रमण गरेको घटना पनि सार्वजनिक भएको थियो। वन सुरक्षाकर्मीमाथि नै काठ तस्करहरू जाइलाग्ने घटना अहिले बढेको छ। दुई साताअघि बोधवन वन क्षेत्रमा दुईवटा हरियो सालका रूख ढाली पिकअप भ्यानमा तस्करहरूले लगेका थिए।
    जैतापुर प्रहरी चौकी र सशस्त्र प्रहरीले कडाइ नगर्दा काठ तस्करी बढेको वन कर्मचारीको भनाइ छ। तस्करहरूको सङ्ख्या बढी भएको कारण गस्तीमा रहेका वन कर्मचारीहरूलाई लखेट्ने, हातपात गर्ने गरेका छन्। नियन्त्रणमा लिएका काठ, गोलियालाई सुरक्षित राख्न नसक्दा जैतापुर वन पोस्टबाट नै काठ चोरी हुने गरेको छ।
    सबडिभिजन वन कार्यालय मधुवनका प्रमुख एवं सहायक वन अधिकृत सुखदेवप्रसाद यादवले अहिले मधुवन वन क्षेत्रमा काठ तस्करहरू सक्रिय भएको बताए। भदौ अन्तिम सातासम्ममा बारामा १०५९ क्यूफिट काठ, गोलिया बरामद भएको र सो अवधिमा २२ जनामाथि मुद्दा दायर गरेको डिभिजन वन कार्यालय, बाराका प्रमुख डिएफओ मन्जुर अहमदले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here