जीतलाल श्रेष्ठ, निजगढ, ३० भदौ/
निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले कामै नगरेको व्यक्तिलाई दुई वर्षको कार्यानुभव पत्र बनाइदिएर विवादमा तानिएको विषयमा छानबीन ढिलाइ हुँदा अनियमितताको आशङ्का बढेको छ।
निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा जागीर खान थालेसँगै अन्य उम्मेदवारहरूले छानबीनका लागि जिल्ला प्रशासन कार्यालय, बारामा उजूरी दिए पनि अझै छानबीन भएको छैन। उजूरी परेको तीन हप्ता पुग्न लागे पनि असन्तुष्ट उम्मेदवारहरूले दिएको उजूरीको अहिलेसम्म बेवास्ता गरिएको उजूरीकर्ताहरूको भनाइ छ।
संस्थामा काम नै नगरेका निजगढ नपा–७ का कबिर पौडेललाई दुई वर्षको कार्यानुभव पत्र निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाकी अध्यक्ष विष्णु नेपालले बनाइदिएकी थिइन्। संस्थाकी अध्यक्ष नेपालले एक वर्ष संस्थामा काम गरेको तर पौडेलका आफन्तको आग्रहमा दुई वर्षको कार्यानुभव पत्र बनाइदिएको बताएकी थिइन्। तर पौडेलले सो संस्थामा एक दिन पनि कर्मचारीको रूपमा काम नगरेको स्रोतले जनाएको छ।
उजूरी दिएको तीन साता बित्न लाग्दा पनि निजगढ नगरपालिका कुनै टुङ्गोमा पुग्न सकेको छैन। उजूरी परेसँगै सोबारे बुझ्न अनुसन्धान गरी कारबाही प्रक्रिया छिटो टुङ्ग्याउन निजगढ नपालाई पत्राचार गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए पनि निजगढ नगरपालिकाले अहिलेसम्म छानबीन पूरा गरेको छैन।
निजगढ नगरपालिकामाथि विश्वास गर्ने ठाउँ नदेखिएपछि जिप्रका बारामा उजूरी दिएको उजूरीकर्ता परीक्षार्थीहरूले भने। “जिल्ला प्रशासनले छानबीनको लागि निजगढ नपालाई नै जिम्मा दिएर के गर्न खोजेको हो ?” उनीहरूले प्रश्न गरेका छन्। यसविरुद्ध चारजना उम्मेदवारले लिखित उजूरी दिएका थिए।
छानबीन समितिले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने सम्भावनाप्रति सचेत हुँदै सबै उम्मेदवारको कागजात छानबीन हुनुपर्ने उनीहरूको भनाइ छ।