प्रस, वीरगंज, ३० भदौ/
    वीरगंजमा थप २६ जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशालाले सोमवार राति २९० जनाको स्वाब रिपोर्ट जारी गर्दा बारा र रौतहटका २६ जनामा कोरोना सङ्क्रमण भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।
    बाराका तीनजना र रौतहटका २३ जना गरी २ महिलासहित २६ जनामा सङ्क्रमण भेटिएको डा चौरसियाले बताए।
    रौतहट, गरुडास्थित राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंक गरुडाका चार/चारजना कर्मचारी, सशस्त्र प्रहरी हजमिनियाका दुर्ईजना र इलाका प्रहरी कार्यालय गरुडाका एकजना, माधवनारायण नगरपालिका–३ र ४ का एक/एक जना, चन्द्रपुर नगरपालिका–६ का एकजना र गरुडा नगरपालिकाका विभिन्न वडामा ९ जना सङ्क्रमित थपिएका छन्।
    त्यस्तै, बाराको प्रसौनी गाउँपालिका–२ का एकजना, जीतपुरसिमरा उपमहानगरपालिका–१२ का एकजना र वडा नं ४ का एकजना सङ्क्रमित थपिएको डा चौरसियाले बताए।
बाराकी ५५ वर्षीया सङ्क्रमितको मृत्यु
    नारायणी अस्पताल वीरगंजको आइसियूमा सोमवार साँझ एकजना सङ्क्रमित महिलाको मृत्यु भएको छ।
    मृत्यु हुनेमा बारा, जीतपुरसिमरा उपमहारनगरपालिका–१४ डुमरवानाकी ५५ वर्षीया महिला हुन्।
    मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेकी सो महिलालाई सोमवार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको डा चौरसियाले बताए।
    उनको मृत्युपछि जिन एक्सपर्ट रिपोर्ट पोजेटिभ आएको छ। योसँगै वीरगंजमा कोरोना सङ्क्रमणका कारण बाराका १७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here