“परिवार भोकले मर्दैथियो, त्यसैले बाँच्नुभन्दा मर्ने आँट गरें”

187


राधेश्याम पटेल, वीरगंज, २९ भदौ/
    गत शनिवार दिउँसो ३ बजे वीरगंज महानगर–१२ मुर्ली मस्जिद टोलमा एकजनाले आत्महत्याको प्रयास गरेपछि हल्लीखल्ली मच्यो। आत्महत्याको प्रयास गरेका युवकलाई छिमेकीले बचाएका थिए।
    मुर्लीचोकमा चियापसल गर्दै आएका ३५ वर्षीय मुस्तफा अन्सारीले आत्महत्याको प्रयास गरेका थिए। दिल्लीमा सिलाइकटाइ गर्दै आएका मुस्तफा एक वर्षअघि नेपाल फर्के र टेम्पो चलाउने काम गरे। त्यसपछि मुर्लीचोकमा चियापसल शुरू गरे। जिन्दगी राम्ररी चलिरहेको थियो।
    यसैबीच, कोरोना महामारी शुरू भयो। साथीहरूसँग पैसा मागेर चलाउँदै आएको चियापसल बन्द गरी घरमैं थुनिने अवस्था उत्पन्न भयो। ६ महीनादेखि बेरोजगार भएपछि उनी निराश भए।
    लामो समयको लकडाउन र निषेधाज्ञाको कारण बाँच्नुभन्दा मर्ने बाटो रोजेका मुस्तफाले भने, “वीरगंजमा ६ महीनादेखि लकडाउन र निषेधाज्ञा छ, घर–जग्गा खासै छैन र कुनै आम्दानीको स्रोत पनि भएन। कसरी बाँच्ने ?”
    साथीहरूसँग लिएको ऋणको बोझले उनी ६ महीनादेखि तनावमा थिए। उनको परिवारमा पत्नीसहित २ छोरी र एक छोरा गरी ५ जना छन्। चार दिनदेखि उनको परिवारले राम्ररी दुर्ई छाक खान पाएको थिएन। त्यसपछि उनले कोठाको पङ्खामा पासो लगाएर आत्महत्या गर्ने निर्णय गरे।
    “महीनौंदेखि छिमेकी दाइहरूबाट मागेर गुजारा चलाउँदै आएको थिएँ। चार दिनदेखि सन्तान र पत्नीलाई राम्ररी खुवाउन पनि सकिनँ,” मुस्तफाले भने, “कहिले निषेधाज्ञा हट्छ, काम गर्छु, परिवारलाई खुशी पार्छु, त्यसको पनि ग्यारेन्टी भएन, त्यस कारण आत्महत्या गर्ने सोच मनमा पलायो।” कोठामा कोही नभएपछि उनले पासो लगाएर झुन्डिनेबित्तिकै उनकी ९ वर्षीया जेठी छोरीले देखिन् र छिमेकीलाई बोलाइन्।
    छिमेकीले पासो काटेपछि मुस्तफा बेहोश भइसकेका थिए। केहीबेरपछि मुस्तफालाई होश आएको उनका छिमेकी जहुर अन्सारीले बताए।
    यो घटना सार्वजनिक भएपछि वीरगंजका दाताहरूले मुस्तफालाई खाद्यान्न र नगद सहयोग गरिरहेका छन्। श्रीपुर निवासी एवं निम्बसको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले आइतवार साँझ व्यक्तिगतरूपमा १० हजार नगद र ५० हजार मूल्यको खाद्यान्न सामग्री सहयोग गरेका थिए।
    यसअघि वीरगंज महानगर–३१ बेलवाका सतन माझीले पनि  निषेधाज्ञाको कारण घरपरिवार भोकले मर्न थालेपछि विषसेवन गरी आत्महत्या गरेका थिए।
    कोरोनाले मार्छ/मार्दैन तर अब जनतालाई भोकले मार्न शुरू गरिसकेको यो घटनाले दर्शाउँछ। तसर्थ स्थानीय प्रशासन र सरकारले सोच्नुपर्ने बेला आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्