६ महीना बन्द हुँदा विमानस्थल र कम्पनीलाई करोडौंको घाटा

राधेश्याम पटेल, वीरगंज, २८ भदौ/
    कोरोना महामारीको कारण आन्तरिक उडान सेवा बन्द हुँदा देशभरकै विमानस्थल तथा विमान सेवा कम्पनीले अर्बाैं रुपैयाँ घाटा बेहोर्नुपरेको छ।
    नेपालकै सबैभन्दा पुरानो विमानस्थलमध्ये एक र नेपालकै सबैभन्दा छोटो समय (१२ मिनेट)को उडान हुने सिमरा विमानस्थलको सेवा र आम्दानी विगत ६ महीनादेखि प्रभावित भएको देखिएको छ। नागरिक उड्डयन प्राधिकरण सिमराका प्रबन्धक वसन्त गौतमका अनुसार गत चैत ११ गतेदेखि देशव्यापी लगाइएको लकडाउनको कारण विमानस्थलको सेवा प्रभावित भई विमानस्थल र विमान सेवा कम्पनीलाई करोडौं मूल्यबराबरको घाटा लागेको हो। उनले नागरिक उड्डयन कार्यालय सिमरालाई मासिक रु १३ लाखले ६ महीनामा करीब रु ७८ लाखको घाटा लागेको बताए।
    त्यसैगरी, काठमाडौं–सिमरा विमान सेवा सञ्चालन गरिरहेको बुद्ध एयरलाइन्स प्रालिलाई मासिक रु १ करोड ८० लाखले ६ महीनामा करीब रु १० करोड ८० लाखको कारोबार गुमेर घाटा लागेको छ।
    विगतमा सिमरा–काठमाडौंबीच दैनिक ८–९ वटा उडान सेवा हुँदै आएको थियो। गत चैत १० गते श्री एयरलाइन्सले पनि दुईवटा उडान सेवा सञ्चालन गरेकोमा त्यसै दिनदेखि देशमा लकडाउन शुरू भएको थियो।
    सिमरा–काठमाडौं विमान सेवाबाट दैनिक दुई सय यात्री ओहोरदोहोर गर्ने गरेका छन्। यो रूटमा अहिले करीब रु ३ हजार भाडा तोकिएको छ। नेपालका ४७ वटा विमानस्थलमध्ये पछिल्लो समयमा ३५ वटा विमानस्थलले सेवा दिइरहेका थिए भने बाँकी विमानस्थल बन्द र केही निर्माणको चरणमा छन्। देशभरमा हालसम्म विमान सेवा सञ्चालन नहुँदा करीब रु ५ अर्बभन्दा बढी घाटा लागेको आकलन छ।
    यसैबीच, वीरगंजका उद्योगी–व्यवसायीले उच्च सतर्कता अपनाएर आन्तरिक विमान सेवा सुचारु गर्नुपर्ने माग गरेका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले सिमरा–काठमाडौं विमान सेवा सञ्चालनमा आए विभिन्न प्रयोजनले काठमाडौं आउजाउ गर्न सहज हुने बताए। सरकारले उचित मापदण्ड बनाएर विमान सेवा शुरू गर्नुपर्छ। कोरोना चाँडै जाँदैन, देशको अर्थतन्त्र सङ्कटमा पर्न थाल्यो, कहिलेसम्म चौतर्फी घाटा खेप्ने, कोरोनासँग लड्न रणनीति बनाएर देशको अर्थतन्त्र चलायमान बनाइ जनताको दैनिकीलाई पनि सहज बनाउँदै लग्नुपर्छ, उनले सुझाव दिंदै भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here